कपिलवस्तुमा १२ करोडको लगानीमा तेल उद्योग सञ्चालन
कपिलवस्तु, ८ भदौ । कपिलवस्तुको मायादेवी गाउँपालिकामा करिब १२ करोड रुपैयाँको लगानीमा नयाँ तेल उद्योग सञ्चालनमा आएको छ । गाउँपालिकाको वडा नं. ५, सिहोरहवामा ‘भारद्वाज तेल उद्योग’ले व्यावसायिक उत्पादन सुरु गरेको हो ।
स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्ने र गुणस्तरीय खानेतेल उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको यस उद्योगले ‘राइस ब्रान’ (धानको ढुटोबाट बन्ने) तेल उत्पादन सुरु गरेको छ ।
उद्योगका प्रबन्धक ओमशङ्कर उपाध्यायका अनुसार उद्योगले वार्षिक चार हजार ५०० मेट्रिक टन तेल उत्पादन गर्ने लक्ष्य राखेको छ । हाल उद्योगमा ८० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । उत्पादित तेलमा मानव शरीरका लागि आवश्यक भिटामिन ‘ए’ र ‘डी’ फोर्टिफाइड गरिएको उद्योग प्रशासनले जनाएको छ । “हाम्रो मुख्य उद्देश्य मानव स्वास्थ्यका लागि उपयोगी र उच्च गुणस्तरको तेल उत्पादन गर्नु हो,” प्रबन्धक उपाध्यायले भन्नुभयो । उद्योगले हाल उक्त तेलको बजार मूल्य प्रतिलिटर ३६५ रुपैयाँ तोकेको छ ।
गाउँपालिकाभित्रै ठुलो लगानीमा उद्योग सञ्चालनमा आएपछि स्थानीय सरकारले पनि यसलाई सकारात्मक रूपमा लिएको छ । मायादेवी गाउँपालिकाका अध्यक्ष वलीउद्दिन मुसलमानले उद्योग स्थापनासँगै स्थानीयले गाउँमै रोजगारी पाउनु खुसीको कुरा भएको बताउनुभयो । यस्ता उद्योगले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने उहाँको भनाइ छ ।