नेप्सेमा गिरावट जारी, परिसूचक ५.३० अङ्कले घट्दा कारोबार रकम भने ४ अर्ब माथि

काठमाडौँ, ९ भदौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा आज पनि गिरावट देखिएको छ । साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ५.३० अङ्कले घटेर २५९४.२७ विन्दुमा झरेको छ । अघिल्लो दुई कारोबार दिनदेखि सुरु भएको घट्दो क्रमले आज पनि निरन्तरता पाएको हो ।

नेप्से घटे पनि आज सेन्सेटिभ इण्डेक्स ०.५० अङ्क, फ्लोट इण्डेक्स ०.३७ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२० अङ्कले ओरालो लागेका छन् ।

परिसूचक ओरालो लागे पनि बजारमा कारोबार रकम भने बढेको छ । सोमबार ३ अर्ब २३ करोड रुपैयाँको शेयर खरिदबिक्री भएकोमा आज ३५७ कम्पनीका १ करोड ४४ हजार कित्ता शेयर ४ अर्ब १० करोड ९७ लाख ५१ हजार रुपैयाँमा कारोबार भएको छ । कुल ४६ हजार ५८९ पटकको कारोबारबाट यो रकम बराबरको शेयर किनबेच भएको हो ।

आज पनि सर्वोत्तम पेन्ट्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सो कम्पनीको मूल्य १३७ रुपैयाँ ५० पैसाले बढेर प्रतिकित्ता १ हजार ५४ रुपैयाँ ७० पैसा पुगेको छ । त्यस्तै, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य करिब १५ प्रतिशत र नाडेप लघुवित्तको मूल्य ६ प्रतिशतले बढेको छ । यता, धौलागिरी लघुवित्तको शेयरमूल्यमा भने १०.०७ प्रतिशतको गिरावट देखिएको छ ।

कारोबार रकमका आधारमा आज मकर जितुमाया सुरी हाइड्रोपावर शीर्ष स्थानमा रह्यो । यस कम्पनीको मात्रै ९० करोड ७ लाख ९७ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, रिलायन्स स्पिनिङ्ग मिल्सको साढे १७ करोड र सोलु हाइड्रोपावरको साढे १३ करोड रुपैयाँ भन्दा बढीको शेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ उपसमूहमध्ये आज दुई उपसमूहको परिसूचक मात्र बढेको छ भने ११ वटा घटेका छन् । विकास बैंक र निर्जीवन बीमा उपसमूहमा सामान्य सुधार देखिएको छ भने होटल तथा पर्यटन उपसमूह सर्वाधिक ०.९१ प्रतिशतले घटेको छ ।