राजमार्ग अवरुद्ध भएपछि भरतपुर–काठमाडौँ उडानमा उच्च चाप

चितवन, २२ भदौ । पृथ्वी राजमार्गको कृष्णभीर लगायतका स्थानमा सडक भासिएर यातायात अवरुद्ध भएपछि भरतपुर–काठमाडौँ हवाई मार्गमा यात्रुको चाप अत्यधिक बढेको छ । सडक मार्गबाट यात्रा गर्न कठिन र जोखिमपूर्ण भएपछि यात्रुहरूले हवाई मार्ग रोज्दा भरतपुर विमानस्थलबाट हुने उडान सङ्ख्या दोब्बरभन्दा बढीले वृद्धि गरिएको छ ।

भरतपुर–काठमाडौँ रुटमा उडान भर्दै आएको बुद्ध एयरका भरतपुर कार्यालय प्रमुख भक्तबहादुर बस्नेतका अनुसार सामान्य अवस्थामा दैनिक ५ वटा उडान हुने गरेकोमा अहिले माग बढेकाले दैनिक ९ देखि ११ वटासम्म उडान भइरहेको छ । “सडक मार्ग अवरुद्ध भएपछि यात्रुको चाप निकै बढेको छ, हामीले आवश्यकताअनुसार उडान सङ्ख्या थपेर यात्रुलाई सहजीकरण गरिरहेका छौँ,” बस्नेतले भन्नुभयो ।

यस रुटमा अहिले ७२ सिट क्षमताको ‘एटीआर ७२’ जहाज सञ्चालनमा छ । तर, भरतपुर विमानस्थलको धावनमार्ग (रनवे) छोटो भएका कारण क्षमताअनुसार यात्रु बोक्न समस्या छ । काठमाडौँबाट भरतपुर आउँदा ६५ देखि ७० जना यात्रु ल्याउने गरे पनि भरतपुरबाट काठमाडौँ जाँदा भने सुरक्षाका कारण ५० जना मात्र यात्रु ओसार्ने गरिएको बुद्ध एयरले जनाएको छ ।

कृष्णभीरमा सडक भासिएपछि चितवनबाट मकवानपुर हुँदै काठमाडौँ जाने वैकल्पिक मार्ग प्रयोगमा रहे पनि वर्षा र पहिरोको डरले यात्रुहरू हवाई यात्रालाई नै सुरक्षित मानिरहेका छन् । भरतपुर विमानस्थलमा चितवनका साथै नवलपरासी, गोरखा, तनहुँ, लमजुङ र मकवानपुरसम्मका यात्रुहरू आउने गरेका छन् । उडान सङ्ख्या थपिएपछि यात्रुहरूलाई केही राहत मिलेको छ ।