दिल्लीको ईशारामा नाच्ने मधेसी मोर्चाका कुरा सुनेर निर्वाचन रोकिन्न — धनराज गुरुङ,नेता, नेपाली काँग्रेस

धनराज गुरुङ काँग्रेसका प्रभावशाली युवा नेता हुनुहुन्छ । आफूलाई मनमा लागेको कुरा प्रष्ट राख्ने गुरुङ नेतृत्वले गरेका गलत कामको पनि खुलेर आलोचना गर्ने नेता भित्र पर्नुहुन्छ । गुरुङसँग मुलुकको पछिल्लो राजनीति, संविधान कार्यान्वयन, स्थानीय निर्वाचनलगायतका विषयमा केन्द्रित भएर मैत्रिन्युज डटकमले गरेको कुराकानीः
मुलुकको पछिल्लो राजनीतिक अवस्थालाई कसरी लिनु भएको छ ?
पछिल्लो समय नेपालको संविधान कार्यान्वयन हुनै नदिने ढंगले वैदेशिक हस्तक्षेप भैरहेको छ । संविधान कार्यान्वयन हुन नदिनका लागि विदेशीले नेपालीलाई नै प्रयोग गरेको देखिन्छ । केही विदेशी शक्तिले नेपालकै केही नेतालाई प्रयोग गरेर संविधान कार्यान्वयन हुन नदिने खेल सुरु गरेका छन् । निकै लामो संघर्षबाट प्राप्त संविधान कार्यान्वयन भएन भने देश अर्को द्वन्द्वमा जानसक्छ । संविधान कार्यान्वयन भएन भने राजनीतिक अस्थिरता भैरहन्छ । त्यसैले पछिल्लो समय संविधान नै जारी हुन नदिने गरी जसरी घटनाक्रम अघि बढेको छ, यो गलत छ । पछिल्लो समय मधेसी मोर्चाले चुनावमा भाग पनि लिददैनौँ, संशोधन विधेयक पनि मान्दैनौँ भनेका छन् । मधेसी मोर्चाका नेताहरु अहिले पनि विदेशी कुटनीतिक नियोगमा बसेर संविधान असफल बनाउने छलफल गर्छन् । उनीहरुको नियत नै संविधानलाई कागजको खोष्टो बनाउनेमा छ । अहिले उनीहरु निरन्तर यही प्रयासमा लागेका छन् । विदेशीको पनि यसैमा प्रयास भैरहेको छ । हामी राज्य विहीनताको अवस्था कल्पना गर्न सक्दैनौँ । अहिले प्रयास त्यसैको भैरहेको छ । यी सबै कुरालाई ख्याल गरेर सरकारले निर्वाचनको वातावरण निर्माण गर्नुपर्छ । निर्वाचनमा सरकार जान सक्नुपर्छ । होइन भने नेपाल ‘फेलर स्टेट’ बन्छ ।
नेपाली काँग्रेसका मधेसी सांसद, केन्द्रीय सदस्य र सभापतिहरुले त मधेसी मोर्चाको माग सम्वोधन नगरी निर्वाचनमा जानुहुँदैन भनेर नेतृत्वलाई सल्लाह दिएका छन् । अब नेतृत्वले यही सल्लाह मान्ने हो ?
उनीहरुले त्यसो भनेका होइनन् । सरकारले भयरहित वातावरणमा निर्वाचन हुन्छ भन्ने आस्वस्त पार्न सकेन भनेका हुन् । काँगै्रसका नेताहरुले दिएको सुुझाव म फेरि पनि भन्छु । शान्तिसुरक्षा भएन भनेको हो । सरकारले शान्तिसुरक्षाका लागि आवश्यकता वमोजिम जनपथ, शसस्त्र र सेना पनि प्रयोग गर्नुपर्ने हुन्छ । निर्वाचनको वातावरण निर्माण भएन भने सरकारले सेना परिचालन गरेर भए पनि सरकारले निर्धारित मितिमै गर्नुपर्छ । अहिले सरकार कसरी निर्वाचन गर्ने भन्नेमा अलमलिएको छ । त्यही अभाव अहिले छ । विश्वासको वातावरण सरकारले दिनुपर्छ । जे गर्दा पनि मधेसी मोर्चा नमान्ने र दिल्लीको इशारामा नाच्ने हो भने उनीहरुकै कुरा सुनेर निर्वाचन नगर्ने भन्ने हुँदैन । अहिलेको आवश्यकता भनेको संविधान कार्यान्वयन हो । तीन ठूला राजनीतिक दल एक ठाउँमा आएको अवस्थामा अहिले पनि संविधान कार्यान्वयनको चरणमा जान्छ । निर्वाचन आयोग पनि अहिले निर्वाचनको वातावरण निर्माणमा लागेको छ । त्यसैले निर्वाचन गर्ने वातावरण सरकार र ठूला राजनीतिक दलले पनि निर्माण गर्नुपर्छ ।
स्थानीय तहको निर्वाचन नै हुन नदिने खेल सुरु भयो भन्ने आरोप छ । खास के–हो ?
हो, अहिले पनि निर्वाचन नगराउन ठूलो प्रयास भएको छ । त्यो तोडेर निर्वाचन गर्नुपर्छ । निर्वाचन नै हुन नदिने देशी–विदेशी शक्तिको प्रयास असफल बनाएर अघि बढ्नुपर्छ । त्यसको विकल्प छैन । कसैले लोकतन्त्रमा सेना परिचालन गरेर पनि निर्वाचन होला भनिरहेका छन् । तर,, देश नै अप्ठ्यारो अवस्थामा पुगेका बेला सेना परिचालन गरेर भए पनि निर्वाचन गर्नुको विकल्प छैन । निर्वाचन आयोग र दलले पनि सोच्नुपर्छ । देश डुवाउनु हुँदैन । नेपाललाई स्थिरतातर्फ लैजानका लागि हामी बलिवेदीमा चड्न पनि तयार हुनुपर्छ । मुलुका लागि रगत बगाउन पनि तयार हुनुपर्छ ।
तपाईहरुका वरिष्ठ नेता रामचन्द्र पौडेलले त केही दिन निर्वाचन मिति सारेर जानुपर्छ भन्नुभएको छ । यो काँग्रेसकै भनाई हो ?
नेताहरु रणभुल्लमा पर्नु हुँदैन । हाम्रा नेताहरु पहिला बोल्छन अनि पछि सोच्छन् । अहिले निर्वाचन रोक्ने होइन षडयन्त्र कहाँबाट भएको छ । त्यो बुझेर सबै राजनीतिक दलहरु एक ठाउँमा बस्नुपर्छ । सुपुत्र बन्ने कि कुपुत्र बन्ने त्यो सोच्नुपर्छ ।
तपाईहरुको पार्टी नेपाली काँग्रेसले निर्वाचनको तयारी कसरी गर्दैछ ?
अहिले चुनावको तयारीको क्रममा घोषणा पत्र समिति घोषणा गरेका छौँ भने निर्वाचन परिचालन समिति पनि घोषणा गरेका छौँ । हामीले टिकट वितरणका लागि जिल्लामा नै एउटा संयन्त्र बनाउने भन्ने कुरा गरेका छौँ । जिल्लामा जिल्ला सभापति, गत अधिवेशनमा जिल्ला सभापतिका निकटतम प्रतिद्धन्दी रहेका व्यक्ति, क्षेत्रीय सभापतिहरु, त्यो जिल्लामा रहेका सांसदहरु, र यदि केन्द्रीय सदस्यहरु पनि छन् भने उनीहरु पनि रहेर जिल्ला स्तरीय टिकट वितरण समिति जिल्लामा नै गठन हुन्छ ।
निर्वाचनको माहोल चाहिँ कस्तो बनेको छ नि ?
माहोल तयार गर्ने काम पार्टीहरुको पनि हो । काँग्रेसले टिकट वितरण समितिदेखि लिएर घोषणा पत्र समिति र परिचालन समितिहरु गठन गर्नु भनेको आफैंमा चुनावी तयारी पनि हो । त्यसैले अब चुनाव हुन्छ, हुन्न भन्ने ढंगले आशंका गरिनुहुन्न । अब अन्यौलतमा देश रहँदैन, चुनावमै जान्छ । अहिले काँग्रेसले चुनावी तयारी नै गरेको छैन भन्ने हल्ला पनि चलाएका छन् । त्यो गलत हो । केन्द्रीय समितिले निर्वाचनका सबै तयारी समितिहरु थालिसकेको छ । त्यसै गरेर टिकट वितरण समिति पनि बन्दैछ । यिनै कुराहरुले पनि अब काँग्रेस पुरा रुपमा चुनाव केन्द्रित भएको पुष्टी हुन्छ ।
चुनाव हुनेमा तपाईँ आशावादी हुनुहुन्छ ?
मैले अघि पनि भने । अब निर्वाचनबाट पछि हट्ने कुरै छैन । अहिले केही समस्या भनेको मधेसमा हो । त्यहाँ पनि केही छिटफुट ठाँउ बाहेक मधेसकै जनता पनि चुनावप्रति अत्यन्तै व्यग्रतापूर्वक प्रतिक्षारत छन् । मधेसकै स्थानीय तहका नेताहरु पनि चुनावकै तयारीमा लागेका छन् । त्यसकारण मलाई त्यस्तो लाग्दैन की मधेसमा चुनाव हुन्न । त्यति मात्र होइन मधेसी मोर्चा अन्तर्गतका केही दलहरुले पनि आफ्नो दल जिल्लाहरुमा दर्ता गरिसकेका छन् । त्यसले गर्दा उनीहरु बाहिर जे सुकै भएपनि आन्तरिक रुपमा उनीहरु पनि चुनावी तयारी गरिरहेको म देख्छु । चुनावबाट पर भाग्ने अवस्था कुनै पनि दललाई त्यो छुट छैन । नेपाली जनताले त्यो छुट दिँदैन । यदी छुट्छन् भने उनीहरु राजनीतिबाटै छुटेर जान्छन् । त्यसकारणले नेपाली जनताको एउटा महोत्सवको रुपमा १९–२० वर्ष पछि हुँदै गरेको निर्वाचनमा नेपाली जनताले महोत्सवकै रुपमा अगाडि बढाउन खोजिरहेको अवस्थामा त्यसलाई सबैले स्वीकार्नुपर्छ । एक दुई जना त्यो रेलबाट छुट्यो भने त्यो उसकै लागि अभिषाप बन्छ ।
नेपाली काँग्रेस जस्तो लोकतान्त्रिक पार्टी जो एमालेमाथि तराई–मधेसमा आक्रमण हुँदा चुप लागेर बस्यो । भोलि काँग्रेस माथि पनि त्यस्तै व्यवहार भयो भने भन्ने पनि चर्चा छ नि ?
सबैभन्दा पहिला त आरोप लगाउने नेपाली संस्कारबाट छुटकारा पाउनुपर्छ । त्यो संस्कारबाट कुनै पनि दल बाहिर निस्कन नसक्नुको कारण नै यही हो । नेपाली काँग्रेस एक प्रजातान्त्रि दल हो र प्रजातन्त्रबादीहरुले हामीले भन्दै आए झैं कसैलाई पनि निशेधको राजनीति गर्नुहुँदैन । विगतमा माओवादीले निषेधको राजनीति गर्दा पनि हामीले त्यही भनेका थियौं । तिनले निषेधको राजनीति गरेका थिए । मधेसी मोर्चाले निषेधको राजनीति गर्दै गर्दा पनि हामीले भन्यौं की निषेधको राजनीति गलत हो । साँच्चै भन्ने हो भने प्रजातन्त्रमा अवश्य पनि निषेधको राजनीति हुँदैन ।