लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको जीवन भोगाइ : ‘ओभरलुक्ड फेसेज अफ नेपाल’

काठमाडाैं, २० मंसिर । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको जीवन भोगाइलाई प्रस्तुत गरिएको ‘ओभरलुक्ड फेसेज अफ नेपाल’ पुस्तक सार्वजनिक भएको छ ।

चिकित्सकद्वय परिधी शर्मा र अर्पणा पाठकले ३० जना लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको जीवन भोगाइलाई सो पुस्तकभित्र जीवन्तरूपमा कलात्मक चित्र मार्फत प्रस्तुत गर्नुभएको छ ।

मण्डला र मिथिला शैलीबाट कोरिएका सो चित्रकथा पुस्तकले विशेषगरी विविध कारणले अहिले पनि खुलेर समाजमा नआएका ती समुदायका व्यक्तिका पीडा र आवाजलाई सुक्ष्मरूपमा उतारेको छ ।

दन्त चिकित्सक शर्माले भन्नुभयो, “कोरोना महामारीका कारण जारी लकडाउनका समयमा मैले आफूभित्र रहेको चित्रकारिताको प्रतिभालाई पुनः प्रस्फुटित गराएँ । डर, त्रास र दुःखका बीच चित्र मेरो साथी बन्यो । चित्रले मलाई यी आवेगसँग जुध्न सिकायो र मेरो ‘कोपिङ मेकानिज्म’ नै मेरा चित्र बन्यो । मसँगै सहपाठी डा अर्पणा पाठकले पनि त्यस्तै गर्थिन् ।”

आफूलाई सानैदेखि चित्र कोर्ने रहर भए पनि चिकित्सक बन्ने क्रममा केही समय चित्रकलासँग साथ छुटेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो “पुस्तकभित्रका चित्र मण्डला र मिथिला शैलीबाट प्रभावित छन् । यसैमा आधारित भएर कोरिएका हुन् । ” त्यही चित्रकलामार्फत आफूहरूले समाजको कथा समाजलाई नै भन्न चाहेको डा शर्माले सुनाउनुभयो ।

डा शर्माका अनुसार एक नेपाली महिला र अर्की भारतीय महिलाबीचको प्रेम सम्बन्धबारे चित्रमा चर्चा गरिएकाे छ ।

परिवार र समाजले अस्वीकार गरेका कारण उहाँहरु प्रेम जोगाउ विदेश जानुभयो । समाजले नस्वीकार्दा विवाह गर्नकै लागि विदेश जानुपर्ने ? ती जोडीले अन्य सामाजिक विभेद र समस्या झेल्नुपर्ला ? यी र यस्तै प्रश्नको जवाफ खोज्दै जाँदा आफूहरू लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको नजिक भएको र उहाँहरुकै कथालाई चित्रको रूप दिएकाे डा शर्माले बताउनुभयाे ।

नेपालको सन्दर्भमा ‘एलजिबिटीआइक्यू’ समुदायका लागि पहिलो ‘कलरिङ बुक’ भएको सर्जकद्वयको दाबी छ । हरेक लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक गर्वका साथ र बिनाविभेद बाँच्न पाउनुपर्छ भन्ने सन्देश चित्र पुस्तकको रहेको छ ।