कुवेतमा ड्रोन आक्रमणमा परी एक नेपालीको मृत्यु : तेह्रथुमका ४४ वर्षीय तामाङले गुमाए ज्यान
काठमाडौँ, १५ साउन । वैदेशिक रोजगारीका लागि कुवेतमा रहेका एक नेपाली नागरिकको ड्रोन आक्रमणमा परी मृत्यु भएको छ । कुवेतको उत्तरी क्षेत्रमा बिहीबार भएको उक्त आक्रमणमा परी तेह्रथुम जिल्लाका ४४ वर्षीय सोम कुमार तामाङको ज्यान गएको हो ।
कुवेतस्थित नेपाली राजदूतावासका अनुसार तामाङ त्यहाँ सवारी चालकका रूपमा कार्यरत हुनुहुन्थ्यो । कुवेतको परराष्ट्र मन्त्रालयले दूतावासलाई घटनाबारे आधिकारिक जानकारी गराएपछि यो तथ्य बाहिर आएको हो ।
राजदूतावासले आज एक विज्ञप्ति जारी गर्दै मृतकको शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी यथाशीघ्र नेपाल पठाउन कुवेत सरकारका सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय र सहकार्य भइरहेको जनाएको छ ।
पछिल्लो विकसित परिस्थितिलाई मध्यनजर गर्दै दूतावासले कुवेतमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । दूतावासले त्यहाँको सरकारद्वारा जारी सुरक्षा मापदण्डहरूको पूर्ण पालना गर्न र संयमित भई सुरक्षित स्थानमा रहन समेत अपिल गरेको छ । मध्यपूर्वी क्षेत्रमा बढ्दो तनावका बीच नेपाली श्रमिकहरूलाई सुरक्षित रहन दूतावासले सचेत गराएको हो ।