बैंकिङ प्रणालीबाट २५ अर्ब तान्दै राष्ट्र बैंक : अधिक तरलता व्यवस्थापनका लागि निक्षेप सङ्कलन
काठमाडौँ, १५ साउन । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता (लगानीयोग्य रकम) व्यवस्थापनका लागि रु २५ अर्ब बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज एक सूचना जारी गर्दै ६१ दिन अवधिको निक्षेप सङ्कलन उपकरणमार्फत उक्त रकम तान्न लागेको हो ।
सूचनाअनुसार इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आज अपराह्न ३:०० बजेसम्म ‘अनलाइन बिडिङ सिस्टम सफ्टवेयर’ (ओबिएसएस) मार्फत बोलकबोलमा सहभागी हुन सक्नेछन् । निक्षेप सङ्कलनको ब्याजदर बोलकबोल प्रक्रियाबाटै निर्धारण हुनेछ भने सङ्कलित रकमको साँवा तथा ब्याज २०८३ असोज १४ गते भुक्तानी गरिने केन्द्रीय बैंकले जनाएको छ ।
यस बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र भाग लिन पाउनेछन् । सहभागी संस्थाहरूले न्यूनतम १० करोड र अधिकतम ५ करोडका गुणाङ्कमा कुल आह्वान रकमसम्म बोल गर्न सक्ने व्यवस्था गरिएको छ ।
राष्ट्र बैंकका अनुसार सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बोललाई प्राथमिकताका आधारमा स्वीकृत गरिनेछ । यदि समान ब्याजदर भएका प्रस्तावहरूको कुल रकम आह्वान गरिएको भन्दा बढी भएमा ‘प्रो–राटा’ (आनुपातिक) आधारमा बाँडफाँट गरिनेछ ।
सङ्कलित यो निक्षेपलाई बैंकहरूले अनिवार्य नगद मौज्दात (सिआरआर) मा गणना गर्न पाउने छैनन् । यद्यपि, प्रचलित व्यवस्थाअनुसार वैधानिक तरलता अनुपात (एसएलआर) तथा खुद तरल सम्पत्ति अनुपातमा भने गणना गर्न पाइने राष्ट्र बैंकले स्पष्ट पारेको छ । पछिल्लो समय बैंकहरूमा निक्षेप थुप्रिने तर कर्जा प्रवाह अपेक्षित रूपमा नहुँदा प्रणालीमा अधिक तरलता देखिएपछि राष्ट्र बैंकले निरन्तर बजारबाट पैसा खिचिरहेको छ ।