वाग्मती सफाइमा अरबाैं रूपैयाँ खर्च, अझै अभियान जारी : सफा हुन सकेन वाग्मती

काठमाडाैं, १७ पुस । वाग्मती सफाइ महाअभियान पछिल्लो समय औपचारिकतामा सीमित हुन थालेको छ । वाग्मती सफाइमा अरबाैं रूपैयाँ खर्च भइसक्दा पनि अझै वाग्मती सफा हुन सकेकाे छैन ।

सफाइ जागरणमा महत्वपूर्ण योगदान गरेको वाग्मती सफाइ महाअभियानले वाग्मती सुधारका काममा उल्लेख्य प्रगति हुन नसकेको जनाइएको छ ।

महाअभियानले पाँच सय हप्ता पूरा गर्दा अभियानले पहिले राख्दै आएका माग भने छोड्न थालेजस्तो देखिएको अभियानकर्मीले नै गुनासो गर्न थालेका छन् ।

पुसको चिसोमा पनि जारी सफाइ महाअभियानको ५०३औँ हप्ताको कार्यक्रम शनिबार गौरीघाटमा जारी रह्यो । सफाइबाट नकुहिने एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिनुभयो ।

सफाइमा अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, प्रमुख अभियानकर्मी लीलामणि पौडेल, स्थानीयवासी, काठमाडौँ महानगरपालिका वातावरण विभाग, अधिकारसम्पन्न वाग्मती समितिका कर्मचारी, सामुदायिक प्रहरी चावहिल, बालसारथी, विभिन्न क्याम्पसका विद्यार्थी, वाग्मती फोहर उन्मूलन उपभोक्ता समिति, तिलगङ्गा महिला समूहको सक्रियता रहेको उहाँले जानकारी दिनुभयो ।

विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा निरन्तर चलिरहेको छ । जाडो, गर्मी, वर्षा, चाडपर्वलगायत प्रतिकूल अवस्थामा पनि सफाइ महाअभियान रोकिएको छैन ।

महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदी सफाइ अभियान पनि सुरु भएको छ । हाल राजधानीमा २५ स्थानमा सफाइ भइरहेको छ ।

अभियानकर्मीको सक्रियतामा देशव्यापीरूपमा सफाइ अभियान जारी रहे पनि स्थानीय सरकारको पनि हुनुपर्ने जति सहयोग भएको छैन ।