स्वास्थ्य बीमाकाे करिब २२ लाख बीमाशुल्क उठाएर कर्मचारी फरार
काठमाडाैं, २ चैत्र । सर्वसाधारणले स्वास्थ्य बीमाबापत तिरेको करिब २२ लाख रुपैयाँ लिएर स्वास्थ्य बीमा बोर्डका कर्मचारी फरार भएका छन् ।
बोर्डको खातामा जम्मा हुनुपर्ने करिब २२ लाख रुपैयाँ रकम कुम्ल्याएर बोर्डको उदयपुर सम्पर्क कार्यालयका सिनियर अहेब मोहम्मद फिरोज अली फरार भएका हुन् ।
बोर्डले फागुन २९ गते एक सूचना जारी गर्दै बाेर्डका सि.अ.हे.व छैठौं तहका मोहम्मद फिरोज अली फरार भएकाे जनाएकाे हाे ।
अली पुस ११ गते देखि कुनै सुचना तथा जानकारी बिनानै कार्यायलमा अनुपस्थित भएकोले स्वास्थ्य बीमा बोर्डले अलिलाई २४ घण्टाभित्र हाजिर भई स्पष्टीकरण पेश गर्न पत्राचार गरेका थिए तर पटक पटक सम्पर्क गर्दा समेत अली सम्पर्कमा नआएकाे बोर्डले जनाएको छ ।
अलीले दर्ता सहयोगीहरु मार्फत बीमा बापत संकलन गरेको २१ लाख ८५ हजार १५० रुपैयाँ अपचलन गरेको आफ्नो खातामा जम्मा गरेको पाइएको छ।
जम्मा गरेको रकम जति आफ्नो खातामा राखेर उनले आफ्नो व्यक्तिगत चेकबाट बोर्डको खातामा जम्मा गर्न भौचर भरी पेश गरेका थिए । तर खातामा रकम नभई चेक फिर्ता (बाउन्स) भएको थियो ।
बोर्डले अलीलाइ चैत ५ गते भित्र अपचलन गरेको रकम बैंक दाखिला गरि साे काे भर्पाइसहित उपस्थित भई स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ ।