कोरोना संक्रमणलाई सामान्य रूपमा नलिन स्वास्थ्य मन्त्रालयकाे आग्रह

काठमाडाैं, १५ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ (काेराेनाभाइरस) संक्रमणलाई सामान्य रुघाखोकीकाेरूपमा नलिन आग्रह गरेको छ।

मन्त्रालयले सर्वसाधारणमा एक सूचना जारी गर्दै अहिले कोरोना संक्रमण बढीरहेकाे र रुघाखोकीको लक्षण पनि मिल्दाेजुल्दाे देखिएकाले संक्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको हो।

मन्त्रालयले ज्वरो आउने, खोकी लाग्ने, हाच्छिउँ आउने, नाकबाट सिँगान बग्ने, टाउको दुख्ने, घाँटी दुख्ने वा खसखस हुने, गन्ध थाहा नहुने, थकान महसुस हुनेजस्ता रुघाखोकीका लक्षण देखिए तत्काल कोरोना परीक्षण गराउन आग्रह गरेको छ।

भारतको उत्तरप्रदेशमा कोरोना भाइरसको संक्रमण बढेसँगै नेपालमा पनि कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको छ। मंगलबार एक हजार चार सय २९ मा कोरोना परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको थियाे।