उपनिर्वाचन : तनहुँमा ३५ प्रतिशत मत खस्यो

तनहुँ, १० वैशाख । प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि तनहुँ निर्वाचन क्षेत्र नं १ मा दिउँसो १ः४५ बजेसम्म ३५ प्रतिशत मतदान भएको छ ।

निर्वाचन कार्यालय तनहुँका अनुसार बिहान ७ बजेदेखि मतदान सुरु भएकामा करिब सात घण्टामा ३५ प्रतिशत मत खसेको हो ।

यस क्षेत्रमा एक लाख २३ हजार तीन सय पाँच मतदाता रहेकामा ४३ हजार एक सय ५६ मत खसेको निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार एक सय ५२ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान चलिरहेको छ ।

निर्वाचन क्षेत्रमा व्यास नगरपालिकाका ५ र ६ बाहेक १२ वडा, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका र भानु नगरपालिका पर्दछ । उपनिर्वाचनमा सबैभन्दा बढी मतदाता भानु नगरपालिकामा छन् ।

भानु नगरपालिकाका १३ वडामा ४० हजार आठ सय ४४ मतदाता छन् । भानुमा २१ मतदानस्थल र ५० मतदान केन्द्र रहेका छन् । त्यस्तै कम मतदाता देवघाट गाउँपालिकामा रहेको कार्यालयले जनाएको छ । देवघाटका पाँच वडामा १२ हजार सात सय १२ मतदाता छन् । देवघाटमा आठ मतदानस्थल र १५ मतदान केन्द्र रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै आँबुखैरेनी गाउँपालिकाका छ वडामा १३ हजार छ सय २२ मतदाता कायम भएका छन् । आँबुखैरेनीमा नौ मतदानस्थल र १७ मतदान केन्द्र छन् । बन्दीपुर गाउँपालिकाका छ वडामा १५ हजार छ सय ७८ मतदाता कायम भएका छन् । बन्दीपुरमा ११ मतदानस्थल र२२ मतदान केन्द्र छन् ।

व्यास नगरपालिकाका वडा नम्बर ५ र ६ बाहेकका १२ वडामा ४० हजार चार सय ४९ मतदाता छन् । व्यासमा २० मतदानस्थल र ४८ मतदान केन्द्र छन् ।

तनहुँ क्षेत्र नम्बर १ बाट उपनिर्वाचनका लागि नेपाली काङ्ग्रेसबाट गोविन्द भट्टराई, नेकपा (एमाले)बाट सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा स्वर्णिम वाग्ले, राप्रपाबाट शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मङ्गोल नेशनल अर्गनाइजेशनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादीबाट गणेश श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार चुनावी मैदानमा हुनुहुन्छ ।