रामपुरको जनविकास प्राविमा विद्यार्थी भर्ना शून्य
पाल्पा, २७ वैशाख । पाल्पा रामपुर नगरपालिका–३ स्थित लामटाङमा रहेको जनविकास प्राथमिक विद्यालयमा यस शैक्षिकसत्रमा विद्यार्थी भर्नादर शून्य भएकाे छ ।
यस प्राथमिक विद्यालयमा वैशाख २६ गतेसम्म एक जना विद्यार्थी पनि विद्यालयमा भर्ना नभएको पाइएको हाे।
विद्यार्थी भर्ना हुन आउने आश्वासन पाएर माथिल्लो निकायमा जानकारी नदिइएको तर शैक्षिकसत्र सुरु भएको महिनाको अन्तिमसम्म पनि विद्यार्थी भर्ना हुन कोही पनि नआएको प्रधानाध्यापक देवबहादुर ठाडाले बताउनुभयो ।
गत शैक्षिकसत्रमा कक्षा १ मा चार, कक्षा २ मा दुई, कक्षा ३ मा चार, कक्षा ४ मा एक, कक्षा ५ मा दुई गरी जम्मा १३ जना विद्यार्थी भर्ना भएको विद्यालयले जनाएको छ । हाल यहाँ स्थायी दरबन्दीमा एक, करार दरबन्दीमा एक शिक्षक र एक कार्यालय सहयोगी छन् ।
बसाइँसराइ गरेर अन्यत्र गएपछि गाउँमा बसेर पढ्ने विद्यार्थी नभएकाे हाे । शैक्षिकसत्र सुरु भएको एक महिना पूरा हुन लाग्दा विद्यालयमा एक जना पनि विद्यार्थी भर्ना नभएको खबर सुनेलगत्तै रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, उपप्रमुख बालकुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपाने, शिक्षा अधिकृत विकल काफ्लेलगायतको टोलीले मङ्गलबार अनुगमन गर्नुभएको छ ।
अनुगमनका क्रममा नगरप्रमुख थापाले विद्यालयमा पढ्ने विद्यार्थी नै नभएपछि तत्काल नजिकको पायक पर्ने विद्यालयमा समायोजन गरेर सञ्चालन गर्ने बताउनुभयो । “विद्यालयमा विद्यार्थी भर्ना नभएपछि समयमै हामीलाई सम्बन्धित निकायबाट जानकारी आएन, ढिलो भएपछि आफूले सो जानकारी पाएपछि तत्काल विद्यालय अनुगमन गरेको छु”, उहाँले भन्नुभयो, “जतिसक्दो चाँडो विद्यालय व्यवस्थापन समितिको बैठक बसेर अन्यत्र विद्यालय सामायोजन गर्न विद्यालयलाई ताकेता गरेको छु ।”
रामपुर नगरपालिकाभित्र कम्तीमा २० विद्यार्थी सङ्ख्या भएको विद्यालयमा न्यूनतम दुई शिक्षक दरबन्दी व्यवस्था गरिएको र विद्यार्थी नै नभएपछि यसै वडाको छिमेकी विद्यालय सीता माध्यमिक विद्यालय समायोजन गर्ने तयारी गर्न विद्यालयलाई आग्रह गरेको शिक्षा अधिकृत विकल काफ्ले बताउनुहुन्छ ।
यस शैक्षिकसत्रको वैशाख २ गतेदेखि नै सुरु भएको विद्यालयमा शिक्षक, कर्मचारी दिनभर विद्यालय खोलेर बस्ने, कार्यालय समय सकिएपछि हाजिर गरेर घर जाने कार्यमात्र भएको छ । शिक्षक कर्मचारीलाई पनि विद्यार्थी नहुँदा दिनभर त्यत्तिकै खाली समय बिताउन कठिनाइ परेको शिक्षक शर्मिला रेग्मीले बताउनुभयो ।
रामपुर नगरपालिकाको माथिल्लो भेग भएकाले यहाँ विशेषगरी जनजाति, दलित समुदायका बालबालिकाको बर्चस्व रहन्थ्यो । सहरबजार आसपास क्षेत्रमा बसाइँसराइ जाने कार्यले गाउँका विद्यालयमा पछिल्लो समय विद्यार्थी सङ्ख्या अति न्यून छन् ।
चारैतिर घेराबार गरिएको करिब चार रोपनी क्षेत्रफलमा तीन भवनमा ११ वटा कक्षाकोठा रहेका छन् । भौतिक पूर्वाधार राम्रो रहेता पनि विद्यार्थी सङ्ख्या नै नभएपछि विद्यालय समायोजन गरिनुपर्ने स्थितिमा पुगेको छ ।
विसं २०२१ माघ १९ गते स्थापना भई पठनपाठन हुँदै आएको यस विद्यालय अहिले विद्यार्थी कोही पनि नभएपछि शिक्षणकार्य बन्द छ । यहाँको जनविकास प्राथमिक विद्यालयजस्तै अन्य ठाउँमा पनि गाउँमा रहेका सामुदायिक विद्यालय बन्द हुने अवस्थामा छन् ।