समानुपातिकतर्फ २५ प्रतिशत मतगणना : ५ दल मात्रै राष्ट्रिय पार्टी बन्ने बाटोमा, ‘श्रम संस्कृति’ थ्रेसहोल्ड नजिक

काठमाडौं, २४ फागुन । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ देशभर करिब २५ प्रतिशत मतगणना सम्पन्न हुँदा पाँचवटा राजनीतिक दल मात्रै ‘राष्ट्रिय दल’ बन्ने दौडमा अगाडि देखिएका छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मात्र ३ प्रतिशतको ‘थ्रेसहोल्ड’ कटाउने सङ्केत देखिएको हो ।

संसद्‌मा राष्ट्रिय दलको मान्यता प्राप्त गर्न प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नुका साथै समानुपातिकतर्फ कुल सदर मतको ३ प्रतिशत (थ्रेसहोल्ड) कटाउनुपर्ने कानुनी व्यवस्था छ । यस मापदण्डअनुसार रास्वपा, कांग्रेस र एमाले भने अहिलेकै अवस्थामा राष्ट्रिय दल बन्न सुरक्षित भइसकेका छन् । कुल खसेको मतको अनुपातमा यी तीन दलले आवश्यक ३ प्रतिशतको सीमा पार गरिसकेका कारण अब गन्न बाँकी ठाउँबाट थप मत नआए पनि उनीहरूको राष्ट्रिय दलको हैसियत सुनिश्चित भइसकेको छ ।

आयोगको प्रारम्भिक अनुमानअनुसार देशभर करिब १ करोड १० लाख मत खसेको छ । यस आधारमा थ्रेसहोल्ड कटाउन कुनै पनि दलले ३ लाखभन्दा बढी मत ल्याउनुपर्ने हुन्छ । हालसम्मको गणनामा नेकपाले करिब साढे ६ प्रतिशत (१ लाख ६६ हजार) मत प्राप्त गरेको छ । बाँकी गणनामा पनि यही लय कायम राखे नेकपाले सहजै थ्रेसहोल्ड कटाउनेछ ।

त्यस्तै, राप्रपाले हालसम्म करिब साढे ३ प्रतिशत (९१ हजार) मत पाएको छ । राष्ट्रिय दलको मान्यता सुरक्षित गर्न राप्रपाले पनि बाँकी क्षेत्रमा यही अनुपातमा मत बढाउनुपर्नेछ । उल्लेखित पाँचवटै दलले राष्ट्रिय दल बन्न आवश्यक पर्ने प्रत्यक्षतर्फको न्यूनतम एक सिट भने जितिसकेका छन् ।

यता, नयाँ शक्तिका रूपमा उदाएको ‘श्रम संस्कृति पार्टी नेपाल’ पनि राष्ट्रिय दल बन्ने थ्रेसहोल्डको सीमा नजिक पुगेको छ । पार्टीका अध्यक्ष हर्क साम्पाङ सुनसरी–१ बाट प्रत्यक्षतर्फ जितको नजिक छन् । उनको निर्वाचन क्षेत्रमा मतगणना अन्तिम चरणमा पुग्दा उनले फराकिलो अग्रता कायम राखेका छन् ।

प्रत्यक्षमा एक सिट जित्ने सम्भावना बलियो भए पनि राष्ट्रिय दलको मान्यता पाउन उक्त पार्टीलाई समानुपातिकतर्फ भने सङ्घर्ष गर्नुपर्ने देखिएको छ । हालसम्मको तथ्याङ्कअनुसार श्रम संस्कृति पार्टीले करिब २ प्रतिशत मात्र समानुपातिक मत पाएको छ । थ्रेसहोल्ड (३ प्रतिशत) कटाउन उक्त पार्टीले अब गन्न बाँकी क्षेत्रबाट हालको भन्दा निकै बढी अनुपातमा मत बटुल्नुपर्ने चुनौती छ ।