काठमाडौंको वायु प्रदूषण ह्वात्तै बढ्यो, विश्वकै चौथो प्रदूषित सहरको सूचीमा
काठमाडौं, २४ फागुन । पछिल्ला केही दिनयता मौसम धुम्मिँदा काठमाडौं उपत्यकाको वायु प्रदूषण ह्वात्तै बढेको छ । बिहीबार मध्याह्नसम्म काठमाडौंको वायु गुणस्तर सूचकाङ्क (एयर क्वालिटी इन्डेक्स– एक्यूआई) १८६ पुगेको छ । यससँगै काठमाडौं विश्वकै चौथो प्रदूषित सहरको सूचीमा उक्लिएको छ ।
वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार लामो समयसम्म हिउँदे वर्षा नहुनु र पर्याप्त हावा नचल्नुले उपत्यकाको आकाशमा प्रदूषणका कणहरू थुप्रिएर बसेका छन् । “लामो समयदेखि पानी परेको छैन, हावा पनि चलेको छैन, जसकारण केही दिनयता मौसम धुम्मिएको छ,” महानिर्देशक सुवेदीले भने । यद्यपि, गत वर्षको तुलनामा यस वर्ष प्रदूषणको स्तर केही कम रहेको र देशभर वन डढेलोको प्रकोप नबढेसम्म प्रदूषण अत्यधिक रूपमा नबढ्ने उनले प्रष्ट पारे ।
वातावरणविद् भूषण तुलाधारले काठमाडौं विश्वकै चौथो प्रदूषित सहरका रूपमा सूचीकृत भएको जानकारी दिँदै समयमै पूर्वतयारी र सतर्कता अपनाउनुपर्नेमा जोड दिएका छन् । प्रदूषण नियन्त्रणका लागि घरबाट निस्कने फोहोर जलाउने प्रवृत्तिको अन्त्य, डढेलो नियन्त्रण, सवारीसाधनको धुँवा परीक्षण र वातावरणीय मापदण्डको कडाइका साथ कार्यान्वयन गर्नुपर्ने उनको सुझाव छ ।
वातावरणीय मापदण्डअनुसार एक्यूआई शून्यदेखि ५० सम्मलाई ‘राम्रो’ र ५१ देखि १०० सम्मलाई ‘सचेत रहनुपर्ने’ श्रेणीमा राखिन्छ । त्यस्तै, १०१ देखि १५० सम्मको अवस्था ‘अस्वस्थ’ मानिन्छ, जसले विशेषगरी श्वासप्रश्वास तथा मुटुका रोगी, बालबालिका र ज्येष्ठ नागरिकलाई असर गर्छ ।
अहिले काठमाडौंको प्रदूषण १५१ देखि २०० को दायरामा (१८६ एक्यूआई) रहेकाले यसलाई ‘सबैका लागि अस्वस्थ’ अवस्था मानिन्छ । यस्तो बेला घरबाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न र सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।
यसबाहेक, एक्यूआई २०१ देखि ३०० सम्म पुगेमा ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि पुगेमा ‘अत्यन्त खतरनाक वा घातक’ मानिन्छ । स्वास्थ्यविज्ञहरूले मर्निङ वाक वा खुला स्थानमा शारीरिक व्यायाम गर्दा प्रदूषित हावा सिधै फोक्सोमा पुग्ने भएकाले यस्तो मौसममा विशेष सावधानी अपनाउन सल्लाह दिएका छन् ।