मध्यपूर्व युद्धप्रति चीनको कडा आपत्ति, अमेरिकालाई सम्बन्ध सुधार्न आग्रह

एजेन्सी, २४ फागुन । चिनियाँ विदेशमन्त्री वाङ यीले मध्यपूर्वमा बढ्दो तनाव र युद्धप्रति कडा आपत्ति जनाउँदै अन्तर्राष्ट्रिय विवाद समाधानका लागि सैन्य शक्तिको सट्टा संवाद र सहकार्य आवश्यक रहेको बताएका छन् ।

चीनको वार्षिक राजनीतिक सम्मेलन ‘टु सेसन्स’ (दुई सत्र) का अवसरमा बेइजिङमा आयोजित विशेष पत्रकार सम्मेलनमा बोल्दै विदेशमन्त्री यीले अमेरिका, रुस, युरोप र ताइवान मामिलामा चीनको स्पष्ट दृष्टिकोण सार्वजनिक गरेका हुन् ।

इरानमाथि अमेरिका र इजरायलले गरेको आक्रमणबाट सिर्जित सङ्कटप्रति लक्षित गर्दै उनले यस्तो युद्ध सुरु हुनै नहुने बताए । बल प्रयोगलाई समस्याको समाधान मान्न नसकिने स्पष्ट पार्दै विदेशमन्त्री यीले भने, “सैन्य शक्तिले उचित कारण सिद्ध हुँदैन । संसार फेरि जङ्गलको नियममा फर्किन सक्दैन ।”

पत्रकार सम्मेलनमा विदेशमन्त्री यीले सन् २०२६ चीन र अमेरिकाको सम्बन्धका दृष्टिले अत्यन्तै महत्त्वपूर्ण वर्ष हुने औंल्याए । डोनाल्ड ट्रम्प पुनः अमेरिकी राष्ट्रपति बनेपछि वासिङ्टन र बेइजिङबीच बढेको व्यापारिक तनावतर्फ इङ्गित गर्दै उनले करका पर्खाल खडा गर्ने र आपूर्ति शृङ्खला अवरुद्ध पार्ने नीतिले कसैको भलो नहुने दाबी गरे ।

“यस्ता कार्य आगो निभाउन इन्धन प्रयोग गर्नुजस्तै हुन्, जसले अन्ततः आफैँलाई क्षति पुर्याउँछ,” उनले भने । अमेरिका र चीनले एकअर्कालाई परिवर्तन गर्न नसक्ने भन्दै उनले अनावश्यक हस्तक्षेप बन्द गरी संवादमार्फत मतभेद व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

यद्यपि, इरानका सर्वोच्च नेताको हत्या र इरानमाथिको आक्रमणलाई लिएर चीनले अमेरिका र इजरायलको कडा आलोचना गर्दै आएको छ ।