कविकेशरी चित्तधर हृदयको ११७ औं जन्म जयन्ती

काठमाडौं, १ जेठ । नेपालभाषा साहित्यका महान कवि चित्तधर ‘हृदय’ को ११७ औं जन्म जयन्ती आज मनाइयो । यस उपलक्ष्यमा आज बिहान कामपा १३ वडास्थित कालिमाटी चोकमा रहेको उहाँको सालिकमा पुष्प अर्पण गरिएको थियो ।

नेपालभाषाको साहित्यिक संस्था नेपालभाषा परिषद्को आयोजनामा भएको उक्त पुष्प अर्पण कार्यक्रममा नेपालभाषाका धेरै साहित्यकार एवं भाषा आन्दोलनका अभियन्ताहरू सहभागी हुनुभएको थियो ।

कार्यक्रममा नेवाः देय् दबूका अध्यक्ष पवित्र वज्राचार्य लगायत पुष्प तुलाधर, मंगला कारंजित, राजभाइ जकःमिले कवि चित्तधर हृदयका बारेमा मन्तव्य राख्नुभएको थियो ।

कवि चित्तधर हृदयले मृत्युपरान्त आफ्नो निवास लगायत सम्पूर्ण सम्पत्ति नेपालभाषा परिषद्लाई दान गर्नुभएको थियो । हाल उहाँको निवासलाई ‘चित्तधर हृदय संग्रहालय’ बनाइएको छ । नेपालमा कुनै पनि साहित्यकारको निवासलाई संग्रहालयका रुपमा सुरक्षित गरिएको यही पहिलो हो ।

नेपालभाषा परिषद्को अध्यक्ष पदमा हाल प्रा. सुवर्ण शाक्य रहनुभएको छ ।

चित्तधर हृदयलाई ‘झी कवि’, ‘कविकेशरी’ जस्ता उपाधिले सम्मानित गरिएको छ । उहाँले नेपालभाषामा कविता लगायत कथा र निबन्धका दर्जनौं पुस्तक लेख्नुभएको छ ।