भारतलाई संसद भवनमा राखेको नक्सा सच्याउन लगाउनुपर्छ : अध्यक्ष ओली

काठमाडौ, १६ जेठ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भारतकाे नयाँ संसद भवनमा राखिएकाे ‘अखंड भारत’ नामक नक्सामा नेपालको भूमिकाे नाम समेटिएको भन्दै आपत्ति जनाउनुभएकाे छ ।

उहाँले नक्साभित्र नेपालकाे भूमिकाे नाम लुम्बिनी र कपिलवस्तु राखेकाे सुनिएको भन्दै त्यस्तो कार्य उचित नहुने बताउनुभएकाे हाे ।

मंगलबार अखिल नेपाल महिला संघले च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बाेल्नुहँदै उहाँले भन्नुभयाे,‘नेपालको भूमि आफ्नो नक्साभित्र हालेर संसद जस्तो ठाउँमा भारतजस्तो एउटा पुरानो, सुदृढ, नमुना लोकतन्त्र भनिएको देशले त्यो व्यवहार गर्छ भने त्यसलाई उचित भन्न सकिदैन ।’

उहाँले प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा उक्त नक्साको विषयमा छलफल हुनुपर्ने बताउनुभयाे । उहाँले भन्नुभयाे, प्रधानमन्त्रीजी भोलि भारत जाँदै हुनुहुन्छ । भारतलाई गल्ती सच्याउनुस् भन्नुपर्छ’, त्यति गर्न नसक्ने भए भारत भ्रमणमा किन जाने?’