चर्को खडेरीले म्याग्दीको मालिका, मङ्गला र बेनीलगायत दर्जन बढी ठाउँमा सुके पानीका मुहान
म्याग्दी, ३२ जेठ । चर्को खरेडीले म्याग्दीको मालिका, मङ्गला र बेनी नगरपालिकालगायत दर्जन बढी गाउँमा पानीका मुहान सुक्न थालेका छन् । पहिले पहिले पानीको छेलोखेलो हुने गाउँका टोलटोलमा अहिले खानेपानीकाे अभाव हुनथालेकाे हाे ।
यहाँका स्थानीय हिजोआज एक गाग्री पानीका लागि एक घन्टा समय खर्चेर वा नजिकको खोलाको पानी छानेर वा उमालेर खानुपर्ने बाध्यतामा छन् । पानीको छेलोखेलो हुने गाउँका टोलटोलमा अहिले खानेपानीका धारा त छन् तर धारामा प्रायः पानी खस्दैन ।
लगातारको खडेरी, जलवायु परिवर्तन, वनजङ्गल विनाश र मानवीय क्रियाकलापका कारण गाउँका कुवा, पोखरी, इनार, खोला नदीको पानी घट्दै गएको छ । कतिपय खोला र मूलमा पानी सुकेर सुख्खा बनेका छन् ।
पानीका मुहान सुक्न थालेपछि जिल्लामा खानेपानीको समस्या बढ्दै गएको छ । खानेपानीको पर्याप्त सुविधा नभएका यहाँका विभिन्न क्षेत्रका दर्जनौँ बस्तीमा कुवा, पँधेरो र पोखरीबाट पानी उपभोग गरिन्छ । वर्षौँदेखि खानेपानी उपभोगका लागि समस्या नभएका स्थानीयमा अहिले पानीका मुहान सुक्न थालेपछि पानीको समस्या चर्कंदै गएको बताउँछन् ।
म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानका ७४ वर्षीय डम्मरबहादुर सिउथानी मगर दुई दशकअघिसम्म गाउँको जरुवामा रहेको कुवाबाट पानी पिएको, नुहाएको, लुगा धोएको अनि त्यही कुवाको पानीले घर बनाएको झल्झली सम्झनुहुन्छ ।
सोही गाउँपालिका वडा नं ३ रुमका ७६ वर्षीय बलबहादुर विकलाई पनि घरको सिरानमा रहेको पाखो र डहरे खोलाको छेउमा रहेका दुई वटा पोखरीमा भैँसी आहाल बसालेको, पोखरीको पानी कुलाएर रोपाइँ गरेको याद छ । उहाँका अनुसार आजभोलि शिरानको पाखोमा न पानीको कुवा छ न त डहरेखोलामा पोखरी नै छन् ।
वर्षात्मा खानेपानीको समस्या खासै नहुने भए पनि सुक्खा मौसममा खानेपानीका मुहान सुक्न थालेकाले यहाँका स्थानीय काकाकुल बन्ने अवस्थामा पुगेका बेनी नगरपालिका–३ तोराखेतका डिलबहादुर सापकोटाले बताउनुभयो ।
बेनपा–६ थाकन पोखरी, मङ्गला गाउँपालिका–१ कुहूँ, बेनपा–१ अर्जमलगायत दर्जनौँ गाउँमा खानेपानीका मुहान सुक्दै गएपछि स्थानीयले खानेपानीको समस्या झेल्दै आएका छन् । पानीका लागि स्थानीय घन्टौँ टाढाका पानीका मुहान धाउन थालेका छन् । जिल्लाको बेनी नगरपालिकासहित पाँच वटै गाउँपालिकाका विभिन्न बस्तीमा खानेपानीको अभाव भएपछि स्थानीय समस्यामा परेका हुन् ।
केही वर्षयता वातावरणीय प्रदूषण र प्राकृतिक विपत्तिका कारण यहाँको भूगोलमा अप्राकृतिक समस्या देखिन थालेको वन तथा वातावरण क्षेत्रका जानकारहरुले बताउँदै आएका छन् । खासगरी विसं २०७२ सालको भूकम्पयता म्याग्दीको लेकाली क्षेत्रमा समस्या देखिन थालेको वन तथा वातावरण क्षेत्रका अगुवा टीकाबहादुर पुनले बताउनुभयो ।
कालीगण्डकी, म्याग्दी नदी र रघुगङ्गाका जलाधार क्षेत्रमा मात्रै होइन, जिल्लाका अन्य ओसिला ठाउँमा रहेका सयौँ पानीका मुहान सुकिसकेका स्थानीय तहका जनप्रतिनिधिले बताएका छन् । खानेपानीका मुहान सुक्नुमा जलवायु परिवर्तन मात्र नभइ, मानवीय क्रियाकलाप बढी जिम्मेवार देखिएको वातावरण संरक्षणकर्मीको भनाइ छ ।
उनीहरुका अनुसार वनजङ्गल विनाश र अनियन्त्रित विकास निर्माणले पानीका मुहानमा प्रतिकूल असर पारेको छ । डोजरले सडक काट्दा जिल्लाका कतिपय ठाउँमा पानीका मुहान हराउन थालेका वातावरण संरक्षणकर्मी बताउँछन् ।