कांग्रेस केन्द्रीय समिति बैठक: आजदेखि केन्द्रीय सदस्यहरूले धारणा राख्ने

काठमाडाैं, ३ साउन । नेपाली कांग्रेस केन्द्रीय समितिकाे बैठक आज पनि बस्दैछ।

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेदेखि सुरू हुनेछ । बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्नुहुनेछ ।

मङ्गलवार सुरु भएको बैठक पार्टी सभापति शेरबहादुर देउवाले बैठक प्रारम्भ भएको घोषणा गर्नु भएपछि महामन्त्री विश्वप्रकाश शर्माले बैठकको दस एजेन्डा प्रस्तुत गर्नुभएकाे थियाे ।

उक्त एजेन्डामाथि आजदेखि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा तथा सुझाव प्रस्तुत गर्नुहुनेछ ।

महामन्त्री शर्माले प्रस्तुत गर्नुभएकाे एजेन्डामाथि धारणा राख्न प्रत्येक केन्द्रीय सदस्यलाई ७ मिनेटको समय दिइएको छ ।

कांग्रेसमा १६८ जना केन्द्रीय सदस्य हुनुपर्नेमा हाल १५८ जना रहेका छन् । कांग्रेसले यसपालिको केन्द्रीय समिति बैठक लाइभ गरेको छ। आजको बैठक पनि लाइभ हुनेछ।