नेपाली आमसञ्चारमा बाल संवेदनशीलताको अवस्था सम्बन्धी अन्तरक्रिया तथा संयुक्त राष्ट्रसङ्घीय बालअधिकार महासन्धि समितिमा प्रतिवेदन हस्तान्तरण

काठमाडाैं, ४ साउन । बालबालिकाकाे क्षेत्रमा कृयाशिल संस्था चाइल्ड नेपालले सेभ द चिल्ड्रेनको सहकार्यमा नेपाली आमसञ्चारमा बाल संवेदनशीलताको अवस्था सम्बन्धी अन्तरक्रिया गरेकाे छ ।

राजधानीकाे एयरपोर्ट होटलमा आयाेजना भएकाे उक्त कार्यक्रममा नेपाली आमसञ्चारमा बाल संवेदनशीलताको अवस्था सम्बन्धी विभिन्न विज्ञहरूसंग छलफल गर्दै संयुक्त राष्ट्रसङ्घीय बालअधिकार महासन्धि समितिमा नागरिक समाजद्वारा प्रस्तुत गरिएकाे प्रतिवेदन हस्तान्तरण गरेकाे हाे ।

प्रतिवेदन हस्तान्तरणका क्रममा चाइल्ड नेपालका अध्यक्ष डा कृष्ण सुबेदीले सन् २०१३ मा सात वटा बालबालिका सम्बन्धी काम गर्ने संस्था मिलेर यूएन कमिटीमा रिपाेर्ट पठाएकाे सम्झना गर्नुहुँदै हाल देशभर ६७५ वटा संस्थाले बालबालिका सम्बन्धी काम गरिरहेकाे बताउनुभयाे ।

उहाँले प्रत्यक २ वर्षमा नागरिक समाजका तर्फबाट यूएन कमिटीमा बालबालिका सम्बन्धी रिपाेर्ट प्रतिवेदन दिनुपर्ने बताउनुहुँदै हाल १८ वटा बालबालिका सम्बन्धी काम गरिरहेका संस्था मिलेर प्रतिवेदन हस्तान्तरण गरेकाे हाे ।

कार्यक्रममा बिशेष अतिथि डा कुन्दन अर्यालले नेपाली आमसञ्चारमा आगामी दिनमा बालबालिकासम्बन्धी कभरेज बढाउन पत्रकारहरुबीच बालअधिकारका बारेमा जानकारी बढाउन आवश्यक ज्ञान, सीप र नैतीक पक्ष, वैचारिक आदानप्रदान, क्षमता अभिवृद्धिका लागि छलफलको क्रम अझ बढाउनुपर्ने बताउनुभयाे ।

उहाँले बाल अधिकारकर्मी र विज्ञहरुकाे विचार आलेख तयार गरी सञ्चारमाध्यमलाई उपलब्ध गराएर सार्वजनिक वृत्तमा बालबालिकाका सवाललाई मुखरित गर्नुपर्ने बताउनुभयाे ।

उहाँले नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाल र राष्ट्रिय बाल अधिकार परिषदबीच बाल मैत्री मिडिया कभरेजको सारभूत रुपमा अभिवृद्धि गर्न समन्वय र सहकार्य हुन जरुरी रहेकाे पनि बताउनुभयाे।

उहाँले अखवारमा प्रकाशित सामग्रीका २ प्रतिशत मात्र पूर्णतः बालबालिकामा केन्द्रीत भएकाे बताउनुहुँदै केन्द्रीकृत छलफल (देशका सबै प्रदेशको प्रतिनिधित्व हुनेगरी बालअधिकारकर्मी र विज्ञ) गरी अनलाइनका समाचारमा पनि विचार आलेख, सम्पादकीय तथा अन्तरवार्ताको गुणात्मक तथा परिमाणात्मक पक्षको अध्ययन गरी बढाउनुपर्ने बताउनुभयाे ।

कार्यक्रममा बिशेष अतिथि बरिष्ठ पत्रकार तथा राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले बालबालिकामा केन्द्रीत समाचार मिडियामा स्थान दिएकाे हुनाले अखवारमा प्रकाशित सामग्री २ प्रतिशत मात्र नहुनुपर्ने बताउनुभयाे ।

उहाँले सञ्चारमाध्यमले बालबालिका सम्बन्धी मात्र समाचार हेर्ने पत्रकारकाे व्यवस्था गर्नुपर्ने बताउनुभयाे । साथै बालअधिकारकर्मिहरूले बालबालिका सम्बन्धी मात्र समाचार लेख्ने पत्रकारलाई संगठन गर्नुपर्ने बताउनुभयाे ।

उहाँले बालबालिका सम्बन्धी कलम चलाइ रहनुभएका अधिकारकर्मी तथा लेखकका सामाग्री (बिचार, आलेख, समाचार)लाई राससले स्थान दिने बताउनुभयाे ।