टीकापुर अस्पतालमा रगत खपत बढ्यो : ‘कम्पोनेन्ट सेटअप मेसिन’को अभाव

कैलाली, १६ साउन । कैलालीस्थित नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखाद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रले एक वर्षमा दुई हजार तीन सय ६९ पिन्ट रगत वितरण गरेको छ ।

केन्द्रले विसं २०७९ साउनदेखि २०८० असारसम्ममा दुई हजार चार सय ६० पिन्ट रगत सङ्कलन भए पनि दुई हजार तीन सय ६९ पिन्ट रगत वितरण गरेको हो । बाँकी रगत मौज्दात रहेको बताइएको छ ।

यसरी वितरण गरिएको रगत ९५ प्रतिशत टीकापुर अस्पतालमा भर्ना भएका बिरामीलाई वितरण गरिएको जनाइएको छ । टीकापुर अस्पतालमा सुत्केरीका साथै हाडजोर्नीका बिरामी, थारू जातिमा देखिने सिकलसेलका बिरामी र अन्य शल्यक्रिया हुन थालेपछि रगतको खपत बढेको हो । अघिल्लो वर्ष एक हजार छ सय ९५ पिन्ट रगत वितरण भएको केन्द्रले जनाएको छ । अघिल्ला वर्षका तुलनामा रगत खपत बढ्दै गएको छ ।

कैलालीको टीकापुर र भजनी नगरपालिका, त्यसैगरी जानकी र जोशीपुर गाउँपालिकाले आफ्ना नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने नीति लिएका छन् । नीतिअनुसार ती पालिका र रेडक्रसबीच रगत प्रयोग गरेको आधारमा एकमुष्ट रकम उपलब्ध गराउने सम्झौता गरिएको छ । प्रतिपिन्ट रु एक हजार एक सय ५० का दरले पालिकाले रेडक्रसलाई रकम उपलब्ध गराउने गरेका छन् । रगत प्रयोगका आधारमा टीकापुरमा सबैभन्दा बढी छ सय ७९ पिन्ट रगत खपत भएको छ ।

यस्तै जानकी गाउँपालिकाका नागरिकले चार सय नौ, जोशीपुर गाउँपालिकाले दुई सय ४१ र भजनी नगरपालिकाले दुई सय ७२ पिन्ट रगत प्रयोग गरेका छन् । अन्य पालिकाका नागरिकले छ सय ७६ पिन्ट रगत प्रयोग गरेका छन् । रगतको खपत बढ्दै गएपछि रेडक्रसले रेडसेल (रातो रक्तकोष), डब्लुबिसी (सेतो रक्तकोष) र प्लेटलेस छुट्याउने मेसिन ल्याउने योजना बनाएको छ ।

“रगतको माग दिनप्रतिदिन बढ्दै गएको छ, रेडसेल, डब्लुबिसी र प्लेटलेस छुट्याउने मेसिन आवश्यक छ”, नेपाल रेडक्रस टीकापुर उपशाखाका सभापति दत्तबहादुर विष्टले भन्नुभयो, “यसका लागि कम्पोनेन्ट सेटअप मेसिनको आवश्यक पर्छ, त्यसैका लागि हामी लागेका छौँ ।”

उहाँले रेडक्रसलाई बलियो बनाउने सवालमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । विसं २०६६ मा आकस्मिकरूपमा रगत उपलब्ध गराउने गरी सुरु गरिएको रक्तसञ्चार केन्द्रले सुरुका दिनमा महिनामा फाट्टफुट्ट रगत उपलब्ध गराउने गरेको थियो । “अस्पतालमा सेवा विस्तारसँगै रगतको माग बढ्दै गएको छ”, नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाका उपसभापति जगदीश्वर पण्डितले भन्नुभयो, “दुई हजार तीन सय ६९ पिन्ट रगत उपलब्ध गराउनु भनेको सामान्य कुरा होइन, रक्तसञ्चार केन्द्रलाई अझ भरपर्दाे बनाउन जरुरी छ ।”

उहाँले रेडसेल, डब्लुबिसी र प्लेटलेस छुट्याउने मेसिन आवश्यक भएकाले यसका लागि यस क्षेत्रका राजनीतिक दलका नेता र जनप्रतिनिधिले चासो देखाउन जरुरी छ भन्नुभयो ।

अहिले रेडक्रसमा पाँच प्राविधिक, एक प्रशासनतर्फ गरी छ कर्मचारी कार्यरत छन् । रेडक्रसले नियमितरूपमा रक्तादानका कार्यक्रममार्फत रगत सङ्कलन गर्दै आएको छ ।