सप्तरीमा भारतले एकतर्फी बाँध बनाउन लागेपछि तीव्र विरोध

सप्तरी । भारतले एकतर्फी रुपमा सप्तरीको सीमाक्षेत्रमा बाँध बनाउन लागेकोमा स्थानीयवासीले विरोध गरेका छन् । सप्तरीको तिलाठी नजिक दुई देशको सीमा दशगजा मिचेर नेपाली भूमि डुबानमा पर्ने गरी भारतीय पक्षले बाँध निर्माण सुरु गरे पछि त्यहाँ विवाद उत्पन्न भएको छ ।
नेपाली जनताको विरोध र स्थानीय प्रशासनको आग्रह बेवास्ता गर्दै गत शनिबारदेखि बाँध निर्माण थालेको भारतीय पक्षले नेपाली पक्षको वेवास्ता गर्दै निर्माण कार्य जारी राखेसँगै विवाद भएको छ । उक्त बाँध खाँडो नदीको बाढीले भत्काइदिएको थियो। त्यहाँ हाल १५० को संख्यामा भारतीय नागरिक तथा प्राविधिक नेपालीको कुरै नसुनी माथीको आदेश भन्दै धमाधम पक्की संरचना उठाउन व्यस्त छन्। सीमामा रहेका सशस्त्र प्रहरीका सुरक्षाकर्मी र स्थानीयहरुले कुनै पनि हालतमा बनाउन निदने भनेपछि त्यहाँ अहिले तनाव भइरहेको छ ।
दसगजामा बाँध निर्माण नगर्न पटक–पटक गरिएको आग्रह भारतीय पक्षले बेवास्ता गरेको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट तिलाठीका निरीक्षक ज्ञानबहादुर श्रेष्ठले बताउनुभयो । ‘
उक्त बाँध निर्माण भए नेपालतर्फ खाँडो खोला र वर्षाको पानीको निकास थुनिनेछ। जसका कारण नेपालका तिलाठी, रम्पुरा मल्हनिया, सकरपुरा, विषरिहया, कोइलाडी र बरसाइनलगायत गाविस डुबानमा पर्ने पूर्वजिविस सदस्य देवनारायण यादवले जानकारी दिनुभयो । उहाँका अनुसार १५ वर्षअघि भारतीय पक्षले एकपक्षीय रूपमा खाँडोको बहाव थुनिने गरी दशगजामा बाँध निर्माण गरेको थियो। गत शनिबार खाँडोको बाढीले त्यसलाई भत्काइदिएको हो।
साउन १३ गते ।