रौतहटमा २८ वर्षीय युवकद्वारा शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास, थप उपचारका लागि काठमाडौँ रिफर
रौतहट, ३१ असार । रौतहटको गरुडा नगरपालिकामा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन्। गरुडा नगरपालिका–९ गम्हरिया निवासी देवेन्द्र सहनीका २८ वर्षीय छोरा गौतमकुमार सहनीले मङ्गलबार राति करिब १ बजे शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
घटनालगत्तै गम्भीर घाइते भएका सहनीलाई तत्काल उद्धार गरी गरुडास्थित स्थानीय अस्पतालमा प्राथमिक उपचारका लागि लगिएको थियो। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक बसन्त गौतमका अनुसार घाइतेको घाँटीदेखि तलको करिब ३१ प्रतिशत शरीर जलेको छ। उनको स्वास्थ्य अवस्था हाल मध्यम र स्थिर रहेको बताइएको छ।
स्थानीय अस्पतालमा प्राथमिक उपचारपछि घाइते सहनीलाई थप र विशिष्टीकृत उपचारका लागि काठमाडौँको कीर्तिपुर बर्न अस्पताल रिफर गरिएको डीएसपी गौतमले जानकारी दिए। युवकले कुन कारणले आफैँमाथि आगो लगाएका हुन् भन्ने विषयमा प्रहरीले विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ।