आरक्षमा पाटे बाघको अवस्था सुधारोन्मुख

कञ्चनपुर, १५ साउन । शुक्लाफाँटा वन्यजन्तु आरक्षमा विश्वमै दुलर्भ मानिएको पाटे बाघ सुधारोन्मुख अवस्थामा रहेको छ । चोरी सिकारी नियन्त्रणका लागि प्रतिरोध इकाई गठन, परिचालन, पाटेबाघको प्रशस्त आहारा र बस्नका लागि उपयुक्त ठाउँको व्यवस्था गरिएपछि आरक्षमा बाघको सङ्ख्या पछिल्लो केही वर्ष यतादेखि सुधारोन्मुख अवस्थामा पुगेको हो ।

आरक्ष र वरपरका क्षेत्रमा पाटे बाघको बासस्थानका रुपमा रहेको घना पतझर जङ्गल, सदावहार वन, घाँसे मैदान, सालको वन, तुन्द्रा वन र उष्ण प्रदेशीय खल्ला वनले गर्दा बाघ संरक्षणमा टेवा पुगेको राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रमका अधिकृत अनिल प्रसाईले बताउनुभयो ।

उहाँका अनुसार गत माघ महिनादेखि फागुन महिनासम्म संञ्चालित ४६ जोडी क्यामेरा, बीस भन्दा बढी प्राविधिकको टोली र हात्तीको सहायताले गरिएको गणनामा आरक्षमा ६ पोथी र नौ भाले गरी १५ वटा वयस्क पाटे बाघ फेला परेका छन् ।

“डमरुको सङ्ख्या समेत अघिल्ला वर्षको तुलनामा बढेको पाएका छौं” अधिकृत प्रसार्इँले भन्नुभयो । आरक्ष क्षेत्रमा पाटे बाघले मन पराउने आहारा मृग, बदँेल, गौर, बाँदर र निलगाईको सङ्ख्या प्रशस्त रुपमा रहेकाले बाघको सङ्ख्या सुधारोन्मुख अवस्थामा पुगेको आरक्ष कार्यालयका मुख्य संरक्षण अधिकृत बेदकुमार ढकालले बताउनुभयो ।

गएको पाँच वर्षको अवधिमा ८ देखि १२ को हाराहारीमा रहेको पाटे बाघको सङ्ख्या विसं २०७१ मा बढेर १५ देखि १७ को हाराहारीमा रहेको पाइएको थियो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार संरक्षित वन्यजन्तु (अनुसूची १) मा सूचीकृत रहेको पाटेबाघ विश्वकै सबै भन्दा आकर्षक र सुन्दर जनावरको श्रेणीमा पर्दछ ।

आरक्षको ३०५ वर्ग किलोमिटर क्षेत्र पाटे बाघको मुख्य बासस्थानका रुपमा रहेको छ ।