बौद्ध धर्मावलम्बीको ‘गुँला’ पर्व बुधबारदेखि

maitrinews

भोलि देखि प्रारम्भ हुने ‘गुँला’ पर्व मा नेवारी बाजाको छुट्टै ताल र शुर टोल टोलमा घन्किने
काठमाडौँ, १९ साउन । बौद्ध धर्मावलम्बीको महत्वपूर्ण सांस्कृतिक ‘गुँला’ पर्व बुधबारदेखि सुरु हुँदैछ । भोलि देखि एक महिनासम्म अव दैनिक रुपमा विहानको समयमा काठमाडौंको भित्री शहरमा टोल टोलमा गुँ ला बाजा घन्किने छ । नेवार समुदायमा विशेष गरी नेवार बौद्धहरुको मौलिक बाजाको रुपमा चिनिने यो बाजा बजाउने तरिका र यसको ताल पृथक प्रकारको छ । यो नेपालको छुटै पहिंचान भएको संगीत कला हो । काठमाडौंका प्रत्येक नेवार बौद्धहरु यस एक महिना भित्र एक पटक विहान सवेरै यो बाजाको साथ लागेर स्वयँभूको दर्शन गर्न जाने गर्दछन् । यो यहाँको मौलिक संस्कृकति हो ।

एकमहिने ‘गुँला’ पर्वका लागि सम्पूर्ण तयारी पूरा भएको स्वयम्भू क्षेत्र विकास महासमितिले जनाएको छ । प्रत्येक वर्ष साउन महिनामा सुरु भई एक महिनाको अवधिभर सञ्चालन हुने उक्त मेलामा आउने भक्तजनको सहजताका लागि आवश्यक स्वयंसेवक तथा सुरक्षाकर्मीको व्यवस्था गरिएको छ ।

काठमाडौँ उपत्यका तथा वरपर क्षेत्रबाट आउने भक्तजनले सहभागिता जनाउने मेलामा स्वयम्भू तथा त्यस आसपास क्षेत्रमा सरसफाइका साथै तथा खानेपानीको व्यवस्था मिलाइएको छ । भक्तजनलाई आवश्यक परेमा सामान्य स्वास्थ्योपचारको व्यवस्था र एम्बुलेन्स तैनाथ अवस्थामा समेत राखिएको समितिका महासचिव महेन्द्ररत्न बुद्धाचार्यले जानकारी दिनुभयो ।

महासमितिले त्यस क्षेत्रको पुनःनिर्माणका लागि खर्च गर्नु परेकाले यस पटक मेलाका व्यवस्थापनका लागि विगतमा भन्दा कम अर्थात् करिब रु तीन लाख छुट्याएको छ ।

नेपाल भाषामा ‘गूँ’को अर्थ नौ तथा ‘ला’को अर्थ महिना हो । सामान्यतया नेपाल संवत्को नौ महिनामा पर्ने सो पर्व विशेषगरी बौद्ध धर्मावलम्बीको महत्वपूर्ण पर्वका रुपमा परिचित छ । पर्वका अवधिमा स्वयम्भू तथा त्यस क्षेत्र नजिकका चैत्यको दर्शन गर्ने परम्परा रहेको स्वयम्भूका पुजारी बाबुराजा बुद्धाचार्यले जानकारी दिनुभयो ।