रियोमा पुग्यो ओलम्पिक टर्च , विरोध प्रदर्शनमा झडप

रियो । ब्रजिलका विभिन्न शहरको तीन महिना लामो यात्रा पश्चात डुंगामा राखेर ओलिम्पिक टर्च प्रतियोगिता हुने शहर रियोमा पुर्याइंदा खेल आयोजनको चर्को खर्चबाट आक्रोशित भींडले विरोध प्रदर्शन गरेको छ।
शहरको केन्द्रमा रियोका मेयरले टर्च बोकेर दौडिएका थिए।
तर केही बेरपश्चात शहरको उत्तरी भागमा सयौं प्रदर्शनकारीहरुले टर्च रिले रोक्ने प्रयास गरे।
उनीहरु ओलिम्पिक आयोजनाको चर्को खर्चको विरोध गर्दै थिए।
दंगा प्रहरीले अश्रु ग्यास तथा पेपर स्प्रेको प्रयोग गरी भींडलाई तितरवितर बनायो।
उक्त झडप हुँदा टर्च रिले हेर्न उपस्थित केटाकेटी सहितका परिवारहरुमाझ भागाभाग भयो।
प्रहरीले स्थानिय सञ्चार माध्यमलाई बताए अनुसार प्रदर्शनकारीहरुले टर्च लगिने बाटोको एक लेन पूर्व सहमति विपरीत छेकेका थिए।
तिनलाई हटाउन आफुहरुले हस्तक्षेप गर्नुपरेको प्रहरीले बतायो।
हाल ब्रजिल चर्को आर्थिक मन्दी तथा राजनीतिक संकटबाट गुज्रिरहेको छ।
शुक्रबार हुने ओलिम्पिक उदघाटन समारोह अघि त्यहाँ थप विरोध प्रदर्शन हुने ठानिएका छन्।
आयोजकहरुका अनुसार दश लाखभन्दा धेरै टिकट अझै विक्री भएका छैनन्।