‘जङ्गे–बुद्धे’को लोकार्पण

maitrinews

काठमाडौँ, २५ साउन । राष्ट्रियता, सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डतालाई कायम राख्न जङ्गेपिलरको संरक्षण गर्नुपर्ने आवश्यकतामा केन्द्रित गरेर सीमाविद् बुद्धिनाराण श्रेष्ठद्धारा लिखित ‘जङ्गे–बुद्धे’ कृति आज लोकार्पण गरिएको छ ।

समग्र दक्षिण एसियामा अङ्ग्रेजका दबदबा रहेको समयमा अत्यन्त बुद्धिमत्ता र कुशलतापूर्वक सीमास्तम्भ बनाएर जङ्गबहादुर राणाले सीमा नियमनमा पु¥याएको योगदान र जङ्गेपिलरबारे पुस्तकमा सविस्तार वर्णन गरिएको छ ।

उक्त पुस्तकको राष्ट्रकवि माधवप्रसाद घिमिरे र संस्कृतिविद् सत्यमोहन जोशीले संयुक्तरुपमा लोकार्पण गर्नुभएको हो । छिमेकीबाट सीमा मिच्न दिन हँुदैन भन्ने सन्देश प्रवाह गर्न खोजिएको छ । उक्त कृतिमा सीमा, सीमा साहित्य, आत्मवृत्तान्त र जीवनदर्शनजस्ता विषय पनि समेटिएका छन् ।

एकतन्त्रीय राणाशासनका प्रादुर्भाव गर्ने क्रूर शासकका रुपमा एक पाटोबाट आम नेपालीले बुझ्ने गरे पनि जङ्गबहादुर राणा राष्ट्रप्रेमी र कानुनी राज्यको हिमायती थिए भन्ने कुरा मुलुकी ऐनको घोषणा र जङ्गेपिरलको स्थापनाले पुष्टि गरेको इतिहासविद्हरु बताउनुहुन्छ ।

जङ्गबहादुरले स्थापना गरेको सीमास्तम्भको त्यसपछिका शासकबाट संरक्षण हुन सक्दा सीमा मिचिएका दुःखद् घटना सुन्न परिरहेको उहाँहरुको बुझाइ छ । सञ्जोग नै भन्नुपर्छ, जुन ठाउँमा जङ्गेपिलर ढलेको तथा हराएको छ, त्यो स्थानमा सीमा विवाद देखिएको छ ।

जङ्गबहादुरले नेपालको गुमेको भू–भागमध्ये अङ्ग्रेजसँग पश्चिम नेपालका बाँके, बर्दिया, कैलाली र कञ्चनपुर फिर्ता लिन सफल भएका थिए । उनले पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म १८ फिट अग्ला २५२ वटा सीमास्तम्भ स्थापना गरेका थिए ।

समारोहमा राष्ट्रकवि घिमिरेले आफ्नो स्वाभिमानलाई कायम राखेर कुनै मनमुटाव नराखी सम्बन्ध सौहार्द तुल्याउनेतर्फ सबैले काम गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

उहाँले भन्नुभयो– “काठमाडौँ सडक विस्तार र घर बनाउन मात्रै होइन, सीमालाई सुव्यवस्थित तुल्याउनेतर्फ पनि हामी सचेत हुन आवश्यक छ, हाम्रो सबैभन्दा ठूलो उत्तरदायित्व मुलुकप्रति हुनुपर्दछ, आफ्नो कामप्रति समर्पणभाव राख्ने बुद्धिनारायणले मातृभूमिप्रति ठूलो योगदान दिनुभएको छ ।’’

संस्कृतिविद् जोशीले राष्ट्र निर्माण र संरक्षणमा योगदान दिने पृथ्वीनारायण शाह र जङ्गबहादुरप्रति राज्यले आवश्यक ध्यान नपु¥याउँदा उहाँहरुका सालिक बेवारिसे अवस्थामा पुगेको हो भनी गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो–“राष्ट्रिय भावना जगाउने काममा निकै जोस, जाँगर र नयाँपन दिएर बुद्धिनारायणले प्रस्तुत गर्नुभएको जङ्गे–बुद्धे पुस्तकले नेपालीलाई इतिहास जान्ने एउटा मौका प्रदान गरेको छ ।’’

पुस्तकका स्रष्टा बुद्धिनारायणले जङ्गबहादुरले स्थापना गरेको सीमास्तम्भका कारण मुलुकको सीमा अहिलेसम्म सुरक्षित भएको हो भन्नुभयो । उहाँले भन्नुभयो–“कतिपय स्थानमा जङ्गेपिलर ढलेको छ, लोप भएको छ, यसरी ढल्दै लोप हुँदै गए भने भोलिका सन्ततिले मुलुकको सीमा कहाँ थियो भनेर पत्ता लगाउन सक्दैनन् त्यसैले हामीले संरक्षण गर्नुपर्छ ।”

उक्त पुस्तकमाथि प्राडा खेम कोइराला, प्राडा अभि सुवेदी र साहित्यकार तुलसीहरि कोइरालाले समीक्षा गर्नुभएको थियो ।