नेपाललाई समृद्ध वजनाउने जिम्मेवारी नेपालीको–मन्त्री लेखक

maitrinews

काठमाडौं, २६ असार
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले नेपाललाई समृद्ध वजनाउने जिम्मेवारी नेपालीकै भएको वताएका छन् । मन्त्री लेखकलाई बधाई दिन बुधवार मन्त्रालय पुगेको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा उनले ठूला–ठूला परियोजना सम्पन्न गर्ने क्रममा नेपाली व्यवसायीहरुले देखाएको कार्य क्षमताको प्रशंसा समेत गरे ।
नेपाललाई समृद्ध बनाउने जिम्मा नेपालीहरुकै भएको बताउँदै मन्त्री लेखकले निर्माण व्यवसायीहरुको समस्या समाधान गर्ने प्रतिबद्धता जनाए । असुरक्षाका कारणले अब विकासका कुनै आयोजना अवरुद्ध नहुने भन्दै मन्त्री लेखकले ढुक्क भएर काम गर्न व्यवसायीहरुलाई आग्रह गरे ।
योजना कार्यान्वयन तथा गुणस्तरको पक्षलाई विशेष ध्यान दिएर कार्य सम्पादन गर्न मन्त्री लेखकले व्यवसायीहरुलाई सुझाव दिए । यसअघि महासंघ अध्यक्ष गौचनले व्यवसायीहरुले भोग्नु परेका विविध समस्याहरु बारे मन्त्री लेखकको ध्यानाकर्षण गराएका थिए । निर्माण आयोजनाहरुको म्याद थप, राष्ट्रिय महत्वका आयोजनाहरुको निर्माण, व्यवसायी मैत्री ऐनको आवश्कयता, व्यवसायीहरुको सुरक्षा लगायतका विषयमा अध्यक्ष गौचनले महासंघको तर्फबाट मन्त्री लेखक समक्ष आधिकारीक धारणाहरु पेश गरेका थिए । जवाफमा मन्त्री लेखकले महासंघको सबै माग जायज भएको भन्दै सरोकारवालासँग छलफल गरी पूरा गर्ने आश्वासन दिएका थिए ।