नयाँ दिल्लीस्थित बेश्यालयमा भारतीय प्रहरीले छापा मार्दा नेपाली समेत पक्राउ

maitrinews

काठमाडौ। भारतको नयाँ दिल्ली स्थित एक संगठित बेश्यालयमा मंगलवार भारतीय प्रहरीले छापा मारिएको छ। जसमा ८ जनालाई पक्राउ गरिएको दिल्ली प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा नेपाली पनि रहेको बुझिएको छ।जीबी रोडस्थित अड्डामा छापा मारेर प्रहरीले वेश्यालयका संचालक आफाक हुसेन र उनकी पत्नी सायरा बानोलाई पक्राउ गरेको हो। उनीहरुले सो क्षेत्रमा ६ वटा त्यस्ता वेश्यालय संचालन गर्दै आएको प्रहरीले जनाएको छ।

Dilly Prasatitutar६ वटा वेश्यालयमा करिब दुई सय ५० युवतीलाई प्रयोग गरेर उनीहरुले आफ्नो धन्दा संचालन गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ। देह व्यापारमा लगाइएका युवतीमध्ये केही नेपाली पनि रहेका छन्। हुसेन दम्पत्तीका चालक रमेश पण्डित नेपाली नागरिक रहेको प्रहरीले जनाएको छ। तर उनको ठेगाना खुलाइएको छैन। उनलाई पनि प्रहरीले पक्राउ गरेको छ।

पण्डितले हुसेन दम्पत्तीको कारोबार हेर्ने गरेको र हरहिसाब राख्ने गरेको बताइएको छ। पण्डितका साथबाट बरामद डायरीमा कारोबारको दैनिक विवरण पाइएको र ती विवरणअनुसार दैनिक १० लाख रुपैयाँसम्म हुसेन दम्पत्तीले वेश्यालयबाट कमाउने गरेको प्रहरीले जनाएको छ।

हुसेन दम्पत्तीको धन्दामा मेनेजरको रुपमा कार्यरत वासु नेपाली पनि पक्राउ परेका छन्। गिरोहका अन्य केही सदस्य फरार भएको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ। नेपालका अतिरिक्त भारतको बिहार, झारखण्ड, पश्चिम बंगालबाट गरिब परिवारका युवतीलाई दिल्ली लगेर देह व्यापारमा लगाउने गरिएको पनि प्रहरीले जनाएको छ। (एजेन्सी)

प्रकाशन मिति–२०७३ साल भदौ १४ गते मंगलवार ।