दलाई लामाको जन्मदिन मनाइएको विषयमा चीनका लागि ७ पूर्वराजदूतको आपत्ति, सरकारसँग मागे स्पष्टीकरण
काठमाडौँ, २५ असार । चीनका लागि नेपालका सात जना पूर्वराजदूतहरूले काठमाडौँमा तिब्बती धर्मगुरु दलाई लामाको ९१औँ जन्मोत्सव भव्य रूपमा मनाइएको विषयप्रति गम्भीर आपत्ति जनाएका छन्। बिहीबार एक संयुक्त वक्तव्य जारी गर्दै उनीहरूले सो कार्यक्रम सरकारको सहमति वा अनुमतिमा आयोजना गरिएको हो भन्दै सार्वजनिक प्रश्न उठाएका छन्।
पूर्वराजदूतहरू राजेश्वर आचार्य, महेन्द्र पाण्डे, टंक कार्की, महेश मास्के, लीलामणि पौडेल, विष्णुपुकार श्रेष्ठ र कृष्णप्रसाद ओलीद्वारा जारी वक्तव्यमा यस प्रकारका गतिविधिले नेपालको स्थापित परराष्ट्र नीति र भू–राजनीतिक सन्तुलनमा खलल पुग्ने चेतावनी दिइएको छ।
“यदि यो कार्यक्रम सरकारको सहमतिमा भएको हो भने, नेपालले मित्रराष्ट्र चीनसँगको दौत्य सम्बन्धको स्थापनाकालदेखि हालसम्म कायम राख्दै आएको ‘एक–चीन नीति’ को प्रतिकूल हुन जान्छ। यसले नेपालको भू–राजनीतिक सन्तुलनमा समेत गम्भीर नकारात्मक असर पार्ने स्पष्ट देखिन्छ,” वक्तव्यमा भनिएको छ।
उनीहरूले परराष्ट्रमन्त्री शिशिर खनालको हालै सम्पन्न चीन भ्रमणका क्रममा व्यक्त गरिएको प्रतिबद्धता स्मरण गराउँदै सरकारले छिमेकीसँगको परराष्ट्र नीति बदलेको हो भन्दै प्रश्न गरेका छन्। वक्तव्यमा सोधिएको छ, “नेपालले सधैँ दृढतापूर्वक एक–चीन नीति अपनाउँदै आएको र नेपाली भूमिबाट कुनै पनि मित्रराष्ट्र विरुद्ध प्रतिकूल गतिविधि हुन नदिने प्रतिबद्धता जनाउँदै आएको छ। परराष्ट्रमन्त्रीको हालैको चीन भ्रमणका क्रममा समेत दोहोर्याइएको सो प्रतिबद्धतामा के अहिले परिवर्तन आएको हो? के हामीले छिमेकीसँगको नीति बदलेका हौँ?”
गत असार २२ गते नागार्जुन नगरपालिका–२ स्थित नामग्याल विद्यालयमा दलाई लामाको जन्मोत्सव मनाइएको थियो। सो कार्यक्रम आयोजना गर्ने सम्बन्धमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले अघिल्लो दिन जिल्ला सुरक्षा समितिको बैठक डाकेर छलफल गरेको र सर्तसहित कार्यक्रम गर्न अनुमति दिएको समाचारहरू सार्वजनिक भएका थिए। यद्यपि, प्रशासनले यस विषयमा आधिकारिक रूपमा कुनै प्रष्टीकरण दिएको छैन।
पूर्वराजदूतहरूले यस्ता संवेदनशील गतिविधिले देशको राष्ट्रिय हित, विकास र सार्वभौमिकतामा आँच पुग्ने भन्दै सरकार र सरोकारवालाहरूलाई सचेत र सतर्क रहन अपिल गरेका छन्।