अन्तरराष्ट्रिय बेपत्ता दिवसमा बेपत्ताहरुको खोजी

काठमाडौ। आज मंगलवार अगष्ट ३० तारिख बेपत्ता पारिएका व्यक्तिहरुको अन्तरराष्ट्रिय दिवस परेको छ। यस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाउने कार्य भएको छ। बेपत्ता भएका आफन्तहरुको खोजी कार्यमा सरकार उदासिन रहेको र उनीहरुको खोजी कार्य गर्न आफन्त तथा परिवारजनले सरकारसंग आग्रह गरेको छ।
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको सम्झनामा हरेक वर्ष ३० अगस्टका दिन यो दिवस मनाउने गरिन्छ। सन् १९८१ मा अमेरिकी मुलुक कोस्टा रिकाबाट यो दिवस मनाउन थालिएको हो। नेपालमा विगतमा भएको दश वर्षे लामो सशस्त्र द्वन्द्वका क्रममा सुरक्षा फौज र माओवादीबाट ठूलो संख्यामा नागरिक बेपत्ता पारिएको थियो।
२०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौता गरिँदा बेपत्ता पारिएका व्यक्तिको ६० दिनभित्र सूचना सार्वजनिक गरी परिवारजनलाई जानकारी गराउने भनिए पनि ९ वर्षसम्म यो प्रतिबद्धता पुरा भएको छैन। राष्ट्रिय मानवअधिकार आयोगका अनुसार सशस्त्र द्वन्द्वको समयमा राज्य पक्षबाट ८ सय ४२ र तत्कालीन माओवादी विद्रोहीबाट १ सय ५२ व्यक्ति बेपत्ता पारिएको तथ्यांक छ। तर बेपत्ता परिवार समाजको तथ्यांकमा भने राज्यद्वारा बेपत्ता पारिएका व्यक्तिको संख्या १ हजार ९५ छ। आयोगले बलपूर्वक बेपत्तासम्बन्धी उजुरीको छानबिनका क्रममा देशका ९ स्थानमा शव उत्खनन् गरी अनुसन्धान गरिसकेको छ।
अन्तर्राष्ट्रिय अभ्यासअनुरुप भएका त्यस्ता अनुसन्धानबाट बेपत्ता पारिएका व्यक्तिलाई मारेर गम्भीर मानवअधिकार उल्लंघन भएको तथ्य उजागर भएको जनाइएको छ। द्वन्द्वका समयमा बेपत्ता पारिएका व्यक्तिको छानबिनका लागि ६ महिनाअघि वेपत्ता नागरिक छानविन आयोग गठन भएको छ। यो अवधिमा आयोगले आवश्यक पूर्वाधारको तयारी एवं उजुरी संकलन गरे पनि बेपत्ता व्यक्तिको छानबिन सुरु गर्न सकेको छैन्।
प्रकाशन मिति–२०७३ साल भदौ १४ गते मंगलवार ।