मधेसका मसिहालाई ओलीको प्रश्नः केपी ओली कसरी मधेस विरोधी भयो ?

काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई मधेस विरोधीको संज्ञा दिनेहरुलाई कडा प्रतिक्रिया दिनुभएको छ । नेकपा एमाले खेलकुद विभागले राजधानीमा आयोजना गरेको एक अन्तरक्रियामा ओलीले कडा प्रतिक्रिया दिनुभएको हो । ‘अहिले केपी ओली मधेस विरोधी, कडा मधेस विरोधी भनेर हल्ला गरिएको छ,’ उहाँले भन्नुभयो, ‘जसले तराईमा सिंचाईको योजनाहरु ल्यायो, जसले मधेसमा बाटा बनाउने बजेट छुट्यायो । जसले मधेसमा सहरीकरणका लागि बजेट छुट्याएको छ । जसले रेल मार्गको योजना अघि सारेको छ ऊ मेधस विराधी ?’ उहाँले मधेस विरोधी केपी ओली होइन मधेसकै महीसाहरु भएको आरोप लगाउनुभयो । ‘जसले पल्लो घरको मान्छेलाई आफ्नो घरको इनार छुन दिदैँन । उनीहरुलाई हेपेर राख्छ,’ उहाँले भन्नुभयो, ‘कम्तीमा मधेसका दलितलाई घर भित्र लगेर राख्ने आँट गर्न सक्छौँ ? म मधेसका मसीहाहरुलाई सोध्न चाहन्छु ।’ नेपालका जनतालाई ठगेर र दबाएर राखेका भरमा अनि आफ्नो सामन्ति वर्चश्व नभत्कियोस भनेर ध्यान अर्कातिर फर्काउनेहरु नै मधेस विरोधी भएको दाबी गर्नुभयो ।
उहाँले अरुका एजेण्डको भारी बोकेर सहमति नखोज्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह समेत गर्नुभयो । ‘अरुका एजेण्डको नाम्लो चुडिने गरी भारी बोकेर संविधान संशोधनका कुरा गरेर कसरी सहमति हुन्छ ?’ ओलीले प्रश्न गर्नुभयो, ‘व्यवस्थापिका संसदमा प्रधानमन्त्रीले सम्बोधन गरेपछि सहमतिको बाटो खुल्ला भनेको त झ्न द्वन्द्व ल्याउने काम भयो । त्यसरी कसरी सहमति हुन्छ ?’ प्रचण्डलाई अरुका एजेण्डाको भारी बोकेर होइन राष्ट्रलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गर्नुभयो । ‘पहिलो राष्ट्र, राष्ट्रलाई पहिलो प्राथमिकतामा राखेको अवस्थामा मात्र सहमति हुन्छ,’ उहाँले भन्नुभयो ‘पुराणहरुमा शिवजीले जट्टा फुत्त निकाल्दा नन्दी भृङ्गी उफारे जसो गरेर सहमति हुँदैन ।’ ओलीले प्रधानमनत्री प्रचण्डले व्यवस्थापिका–संसदमा गरेको सम्बोधन चटकीवालाले हाउडाका पुल देखो, आगराका ताजमहल देखो भन्दै फिट्कि–फिट्क घुमाए जस्तो भएको आरोप लगाउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले सम्बोधनमा भारत भ्रमण, चीनका राष्ट्रपतिले गर्ने नेपाल भ्रमण, फाष्टट्याक, हुलाकी राजमार्ग कसले निर्माण गर्ने, आर्थिक सम्बृद्धि केहीका बारेमा पनि नबोलेको आरोप पनि ओलीले लगाउनुभयो । ओलीले कांग्रेस–माओवादी गठबन्धनको सरकार अर्काको जोडजामले पुगेको बहुमत भन्दै ०७४ माघपछि उनीहरुको बस्ने नहुने दाबी गर्नुभयो ।