ऐतिहासिक धरोहरहरुको पुनर्जीवन—
डा. साफल्य अमात्य

maitrinews

dr-saphalya-amatya

रानीपोखरीको पुनर्निर्माणमा हिजोआज जे–जस्ता बहस तथा टीकाटिप्पणी भइरहेका छन् त्यसले नेपाल सरकारको सम्पदा पुनर्निर्माण र जीर्णोद्धार गर्ने जिम्मेवार संस्थाबीच तालमेल र समन्वय नभएको स्पष्ट हुन्छ। यसरी भूकम्प गएको डेढ वर्षपछि भर्खरैमात्र सुरु गर्न लागेको रानीपोखरीको पुनर्निर्माणको काममा खिचातानी, बाधा अड्काउ हुनु कुनै पनि दृष्टिकोणले राम्रो होइन । यसरी खिचातानी र बाधा अड्चन भइरहेमा कहिले हाम्रा यी स्मारकले पुनर्जीवन पाउने हुन् कसैलाई थाहा छैन ।

पुनर्निर्माण र जीर्णोद्धारको कार्य जुनसुकै सरकारी एवं गैरसरकारी निकायले गरे तापनि यो काम गर्नुअघि पर्याप्त मात्रामा बहस तथा छलफल हुनुपर्छ । सम्बन्धित निकाय, अन्य अनुभवी र जानिफकार व्यक्तिबीच यस्ता सम्पदामा के÷कसरी पुनर्निर्माण र जीर्णोद्धार गर्न लागेको हो सो विषय सम्भव भएसम्मको नाप, नक्सा र अन्य विवरणमा छलफल गरी एउटा निष्कर्षमा पुगेरमात्र कार्य सुरु गर्नुपर्छ । नत्र जुनसुकै सम्पदाको काम सुरु गरेपछि सम्बन्धित निकायबीच सधैंँ यसरी हानथाप भई नै रहने हुन्छ ।

धरहराको पुनर्निर्माण हुनु ऐतिहासिक, वास्तुकलात्मक वातावरण र सौन्दर्यका दृष्टिकोणले पनि अति आवश्यक छ । काठमाडौं उपत्यकाको पहिचानको एउटा खम्बाझैँ रहेको यो स्तम्भ वरपर हालको भन्दा राम्रो र अलि विस्तार गरी पार्क, बगैंचा बन्नु राम्रो नै हुन्छ । तर यहीँ नै अर्को विशाल धरहरा बनाउने भन्ने कुरा के हो रु के यो वाहियात र बहुलठ्ठीपन होइन रु नेपाललाई अर्को ठूलो धरहरा किन चाहियो रु भूकम्पले भत्काएका सम्पदालाई पुनर्जीवन दिनु सरकारको कर्तव्य हो । त्यसमा दुई मत हँुदैन तर देशभर शिक्षा, स्वास्थ्य, यातायात जस्ता अति आवश्यक कुरामा समेत खासै केही गर्न नसकिरहेको अवस्थामा के यसरी अर्को ठूलो र विशाल धरहरा बनाइ अनावश्यक खर्च गर्न आवश्यक छ रु

विभिन्न मितिका छापामा भारत, चीन, श्रीलंका, जर्मनी, अमेरिका र जापानसँग सम्झौता गरी नेपाल सरकारले भूकम्पमा धेरै हानि नोक्सानी भएका सम्पदा एवं सम्पदा क्षेत्रहरुको पुनर्निर्माण र जीर्णोद्धार गर्ने कामको जिम्मा दिने निर्णयमा पुगेको खबर आएका छन् । यो कुरा ठीकै पनि हो र स्वागतयोग्य पनि छ । तर सम्बन्धित निकायहरुले यी मित्र राष्ट्रहरुले के यी स्मारकहरु ‘टर्न कि बेसिस’ अर्थात सम्पूर्ण कुरा मित्र राष्ट्रहरुलाई नै गर्न दिई तयार भएपछि हस्तान्तरण गरिलिने हो वा मित्र राष्ट्रहरुले सम्बन्धित निकायलाई चाहिने जति आर्थिक एवं प्राविधिक सहयोगमात्र दिने हो वा सम्बन्धित निकाय र मित्र राष्ट्रहरु मिली पुनर्निर्माण र जीर्णोद्धारका कार्य संयुक्तरूपले गर्ने हो रु त्यो स्पष्ट हुनुप¥यो ।

यदि मित्र राष्ट्रहरुबाट नै विशेषज्ञ प्राविधिकहरु आई यी कार्य गर्ने हो भने भारत, चीन, श्रीलंकाका प्राविधिक विशेषज्ञलाई अलि समस्या पर्लाजस्तो लाग्छ । किनभने मलाई ज्ञात भएसम्म भारतका कोही पनि प्राविधिक र विशेषज्ञले नेपाली छानेशैलीका मन्दिर र नेपाली वास्तुकलाबारे खासै अध्ययन, अनुसन्धान र पुनर्निर्माण तथा जीर्णोद्धारका काम गरेको थाहा छैन । केही भारतीय विशेषज्ञ, जस्तै– डा।एनआर वनर्जी, डा।कृष्णदेव र डा।ओपी अग्रवाल आदिले सन् ७०÷८० को दशकमा नेपाली वास्तुकलाबसम्बन्धी अध्ययन÷अनुसन्धान गरेका थिए तर त्यसपछि भने कोही पनि भारतीय विशेषज्ञ विद्वान् तथा प्राविधिकले नेपाली वास्तुकलामा दिलचस्पी राखी काम गरिरहेको मलाई थाहा छैन ।

चीनचाहिँ यस क्षेत्रमा हाम्रो लागि नयाँ मुलुक नै हो तर चीन र भारत जस्तो विशाल एवं ठूलो जनघनत्व भएका देशमा नेपाली वास्तुकलाबारे चाख भएका, अध्ययन÷अनुसन्धान गरिरहेका कोही व्यक्ति नहोला भन्न सकिँदैन । यदि नेपाली वास्तुकलाको विषयमा चाख राख्ने अध्ययन÷अनुसन्धान गरिरहेका जानिफकारलाई यी मित्र राष्ट्रहरुले साथ लिई यी काम गराएमा सबै दृष्टिकोणबाट राम्रो हुने देखिन्छ ।

विहार वास्तुकला र स्तूप वास्तुकलामा श्रीलंकामा धेरै विशेषज्ञ विद्वान् छन् । जापानले हनुमानढोका गद्दी बैठकको पुनर्निर्माणको काममा दिलचस्पी देखाउनु स्वाभाविकै हो । किनभने जापानको निप्पन इन्स्टिच्युट अफ टेक्नोलोजीका विशेषज्ञ तथा प्राविधिकहरुले उपत्यकाका तीनैवटा दरवार क्षेत्र, नुवाकोट र गोरखा दरवारको समेत विस्तृत अध्ययन÷अनुसन्धान गरिसकेको छ । सन् १९८१ मा निप्पन इन्स्टिच्युट अफ टेक्नोलोजीले ‘दि रोयल बिल्डिङ अफ नेपाल’ नामक नाप नक्शा, फोटो आदि भएको एक विस्तृत प्रतिवेदन पनि प्रकाशित गरिसकेको छ ।

उपत्यकाभित्र सन् ७० को दशकदेखि सम्पदा क्षेत्रको पुनर्निर्माण तथा जीर्णोद्धारको काममा संलग्न रहँदै आएको जर्मन सरकारसँग भने पर्याप्त मात्रामा विशेषज्ञ र प्राविधिक छन् । अरु धेरैको कुरा नगरौं, काठमाडौं उपत्यकाको सम्पदाहरुमा नै आफ्नो जीवनको अमूल्य ५० वर्ष बिताउने नेपाली मौलिक वास्तुकलामा अध्ययन÷अनुसन्धान गरी प्रशस्त मेहनत गरी ‘अर्किटेक्चर अफ दि नेवार्स’ शीर्षक राखी तीन भोलममा जुन अमूल्य कृति प्रकाशित भएको छ त्यस महान् कृतिका लेखक डा।निल्स गुस्चोलाई आज हामीले बिर्सनुहँुदैन र बिर्सन पनि सकिँदैन । लिच्छवि, मल्ल र शाह तीनै कालमा यस उपत्यकामा निर्माण भएका वास्तुकलाका सबै पक्षलाई विस्तृतमा अध्ययन÷अनुसन्धान गरी यी तीन भोलुम पुस्तक नेपाल र नेपालीका लागि एक अमूल्य उपहारस्वरूप उहाँले दिनुभएको छ । हुन पनि २०७२ सालको भूकम्पपछि यी पुस्तक नेपाल र नेपालीका लागि वरदान नै सावित भएको छ । सन् २०११ मा प्रकाशित यी पुस्तकमा सन् १९५० सम्मका नेपाली वास्तुकलाका सम्पूर्ण विधा सकेसम्म समावेश गर्न खोजिएको छ ।

अब रह्यो अमेरिका, अमेरिकाले काठमाडौं भ्याली प्रिजरभेसन ट्रस्ट ९केभिपिटी० नामक एक आइएनजिओमार्फत् सन् १९९१ देखि उपत्यकाका विभिन्न मन्दिर, बिहार र दरवार क्षेत्रहरुमा पुनर्निर्माण र जीर्णोद्धारका काम गर्दै आएको छ । केभिपिटीमा काम गरेर अनुभव हासिल गरेका केही प्राविधिक र विशेषज्ञ अझै छन् । यस गैरसरकारी संस्थामा काम गरी धेरै अनुभव बटुलेका प्रोजेक्ट डाइरेक्टर डा।रोहित रञ्जित हाल यस संस्थाका कार्यहरुमा व्यस्त छन् । यस संस्थाले पाटन दरवार क्षेत्र वरपरका स्मारकहरुको पुनर्निर्माण र जीर्णोद्धारका काम गरिरहेको छ ।

दशैंअघि अब धमाधम पुनर्निर्माण र जीर्णोद्धारका कार्य सुरु हुन लागेको छ भन्ने कुरा सञ्चार माध्यमहरुबाट थाहा पाइएको छ । नेपाल सरकारका सम्बन्धित निकायहरुसँग यी सबै मित्र राष्ट्रले गर्न लागेका कामहरुको निगरानी राख्न, विशेषज्ञ सेवा प्रदान गर्न योग्यता पुगेका अनुभव प्राप्त व्यक्ति के÷कति छन्, के ती पर्याप्त छन् वा छैनन् त्यसको पनि राम्ररी निक्र्यौल गर्नुपरेको छ । तसर्थ हामीसंँग भएका र हाल सरकारी सेवामा नरहेका केही योग्य, अनुभवी र जानिफकार पुरातत्वविद् कला इतिहासकार, वास्तुकलाविद्, इन्जिनियर आदिलाई पनि यी मित्र राष्ट्रको काममा रेखदेख र सहयोगका लागि जिम्मेवारी दिने हो कि रु यस विषयमा पनि सम्बन्धित निकायले विचार गर्नुपर्ने देखिन्छ ।

अब रह्यो काष्ठमण्डपको कुरा । यो स्मारकको पुनर्निर्माणमा सरकारले किन ढिलाइ गरिरहेको हो र अहिलेसम्म काम किन सुरु गर्न नसकेको हो, यी कुरा आज सर्वत्र चासोको विषय बनेको छ । सुन्नमा आएको छ, पुरातत्व विभागले काठमाडौं महानगरपालिकालाई यस काष्ठमण्डपको विस्तृत नक्शा तयार गरी दिइसकेको छ । तर ती नक्शा सन् ७०÷८० को दशकमा हनुमानढोका दरवार जीर्णोद्धार परियोजनामा काम गरेका इन्जिनियर आर्किटेक्ट डिउल्फ ग्याङ्ग कर्नको सन् १९७९ मा प्रकाशित पुस्तक ‘दि टे«ेडिसनल अर्किटेक्चर अफ दि काठमाडौं भ्याली’ बाट नै हुबहु उतारेर दिएको भन्ने कुरा पनि आज जनचासोको विषय बनेको छ । यसको जाँच हुनु आवश्यक छ । यसरी तयार गरिएको नक्शा पनि काठमाडौं महानगरपालिकालाई पुरातत्व विभागले हस्तान्तरण गरेको केही महिना भइसक्यो तर आजसम्म पनि राष्ट्रको यो अति नै महत्वपूर्ण स्मारक पुनर्निर्माण गर्ने कामको थालनीसमेत हुन सकेको छैन । सुन्नमा आएअनुसार यो भव्य र विशाल स्मारकको जग हचुवा किसिमबाट काठको सत्तरीहरु ओछ्याइ त्यसमाथि गारो उठाउन लागिएको छ । तर यो मण्डपमा यसरी काठको सत्तरीमाथि जग पर्खाल, गारो उठाई निर्माण गरेको कुनै पनि प्रमाण हालसम्म पनि भेटिएको छैन । यसरी काठको सत्तरीमाथि इँटाको गारो उठाई स्मारक निर्माण गर्ने शैली नेपालमा कहिले आयो, कसले ल्यायो र यस्ता स्मारक कहाँ कहाँ छन्, ती कुराको विस्तृत अध्ययन÷अनुसन्धान हुनु जरुरी छ । किनभने काठको सत्तरी केही वर्षपछि मक्किएर माटो भई जाने सम्भवना निकै हुन्छ । यस्तो किसिमको बनौटको कुनै स्थायित्व हुँदैन । यसरी अपरिपक्व कुरा, सल्लाह दिने विशेषज्ञदेखि सम्बन्धित निकाय सधैं सतर्क हुनुपर्ने देखिन्छ।