लगातार तेस्रो जितसँगै मेक्सिको नकआउट चरणमा, चेकियाको यात्रा समाप्त
काठमाडौं असार ११ । आयोजक राष्ट्रमध्ये एक मेक्सिकोले फिफा विश्वकप २०२६ को समूह चरणमा शतप्रतिशत नतिजा निकाल्दै अन्तिम ३२ मा स्थान सुरक्षित गरेको छ। समूह ‘ए’ अन्तर्गत बुधबार राति भएको खेलमा मेक्सिकोले चेकियालाई ३–० ले पराजित गर्दै लगातार तेस्रो जित दर्ता गरेको हो।
समूहको शीर्ष स्थान र नकआउट चरणको टिकट यसअघि नै सुरक्षित गरिसकेको मेक्सिकोविरुद्ध चेकियालाई अर्को चरण पुग्ने आशा जीवित राख्न जित आवश्यक थियो। त्यसैले खेलको सुरुआती समयमा चेकियाले आक्रामक प्रदर्शन गरेको थियो। आठौँ मिनेटमा डेनिस भिसिन्स्कीको प्रहार पोस्ट नजिकैबाट बाहिरिँदा चेकियाले अग्रता बनाउने अवसर गुमायो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि मेक्सिकोले दोस्रो हाफमा आफ्नो वास्तविक लय समात्यो। ५५औँ मिनेटमा मातेओ चाभेजले तीव्र गतिमा डिफेन्स चिर्दै गोल गरेपछि मेक्सिकोले खेलमा अग्रता लियो। उक्त गोलसँगै मेक्सिको सिटी स्टेडियममा उपस्थित हजारौँ समर्थक उत्साहित बने।
चाभेजको गोलको उत्सव सकिन नपाउँदै ६१औँ मिनेटमा जुलियन किन्योनेसले नजिकको दूरीबाट गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर बनाए।
खेलको ७८औँ मिनेटमा प्रशिक्षक हाभियर अग्विरेले ४० वर्षीय अनुभवी गोलरक्षक गिलेर्मो ओचोआलाई मैदानमा उतारेका थिए। यससँगै ओचोआ विश्वकपको छ संस्करणमा खेल्ने दुर्लभ उपलब्धि हासिल गर्ने खेलाडी बने।
इन्जुरी समयको चौथो मिनेटमा आल्भारो फिडाल्गोले अर्को गोल थपेपछि मेक्सिकोले ३–० को सहज जित सुनिश्चित गर्यो।
जितसँगै मेक्सिकोले समूह चरणका तीनवटै खेल जित्दै नौ अंकका साथ समूह विजेताको रूपमा नकआउट चरणमा प्रवेश गरेको छ। पराजित चेकिया भने प्रतियोगिताबाट बाहिरिएको छ।
विश्वकप इतिहासमा पहिलो पटक समूह चरणका सबै खेल जितेको मेक्सिकोले सन् १९७० यताकै पहिलो पटक समूह चरणका तीनवटै खेलमा क्लिन सिट कायम राख्दै अर्को चरणमा प्रवेश गरेको छ।
खेलमा निर्णायक पहिलो गोल गरेका मातेओ चाभेज ‘प्लेयर अफ द म्याच’ घोषित भए।