पोर्चुगलका पूर्वप्रम गुटेरेस राष्ट्रसंघको महासचिव बन्ने पक्का

un

न्युयोर्क । पोर्चुगलका पूर्व प्रधानमन्त्री एन्टोनियो गुटेरेस राष्ट्रसंघका नयाँ महासचिव बन्ने तय भएको छ।
बुधबार भएको गोप्य मतदानमा राष्ट्रसंघीय सुरक्षा परिषद्का कुनै पनि सदस्य उहाँको विपक्षमा नदेखिएपछि गुटेरेस महासचिव बन्ने पक्का भएको हो।

उक्त अनौपचारिक अनुमोदन बिहीबार एउटा मतदानमार्फत औपचारिकतामा बदलिनेछ।
त्यसलाई थप अनुमोदनका लागि राष्ट्रसंघीय महासभामा पठाइनेछ।
१५ सदस्यीय राष्ट्रसंघीय सुरक्षा परिषदमा बुधबार १० जना उम्मेदवारको पक्ष, विपक्षमा मत जाहेर गर्न भनिएको थियो।
उक्त अनौपचारिक मतदानपछि सुरक्षा परिषद्का सदस्य मुलुकका प्रतिनिधिहरुसंगै उभिएर रुसी राजदूत भिटाली चुर्किनले सबै उम्मेदवारको सुझबुझ धेरै रहे पनि आफूहरुको रोजाइमा गुटेरेस परेको सञ्चारमाध्यमहरुलाई बताए।
राष्ट्रसंघीय शरणार्थी निकाय युएनएचसीआरको प्रमुखको रुपमा १० वर्ष काम गरेका गुटेरेस एक जना निकै अनुभवी कूटनीतिज्ञ हुनुहुन्छ।
उहाँ सन् १९९५ मा पोर्चुगलका प्रधानमन्त्री बन्नुभएको थियो।
गुटेरेस सन् २०१७ को सुरुवातमा हालका राष्ट्रसंघीय महासचिव बान की मुनको स्थान लिनुहुनेछ।

असोज २० गते ।