आईएस स्टेटको राजधानी रक्कामाथि कारबाही सुरु

 

सिरिया । अमेरिकी समर्थनप्राप्त कुर्द तथा अरब संलग्नता रहेको एउटा लडाकु समूहले सिरियामा इस्लामिक स्टेटको राजधानी भनिएको रक्का शहरलाई कब्जा गर्नका लागि कारबाही शुरु गरेको छ।
द सिरिया डेमोक्रेटिक फोर्सेजलाई अमेरिकी नेतृत्वको गठबन्धनको हवाई हमलाले सघाउनेछ।
रक्काबाट करिब ५० किलोमिटर टाढा रहेको ऐन इस्सा नगरमा एउटा पत्रकार सम्मेलनमा त्यो कारबाही शुरु भएको घोषणा गरिएको थियो।
द सिरिया डेमोक्रेटिक फोर्सेज एसडिएफ ले सर्वसाधारणलाई आइएसका लडाकु रहेको क्षेत्रबाट टाढा रहने चेतावनी दिएका छन्।
वाशिंटनका एक अधिकारीले पनि त्यस्तो आक्रमण शुरु भएको पुष्टि गरेका छन्।
एसडिएफ का अर्का प्रवक्ताले दह्रो प्रत्याक्रमणको अपेक्षा गरेको एएफपी समाचार संस्थालाई बताएका छन्।
अमेरिकाको सहयोगमा इराकी सेनाले मोसुलबाट आइएसलाई हटाउने कारबाही जारी राखेको समयमा सिरियामा पनि त्यो कारबाही शुरु हुन लागेको हो।
आइएसले सन् २०१४ मा घोषणा गरेको खलिफेट क्षेत्रको राजधानी रक्का शहरलाई मानेको थियो।