एमाले विदेशीले पठाएका ‘पैठारी’ मागको सम्बोधन गर्न सक्दैनः ओली

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनका नाममा पहाडबाट तराईलाई श्रृंखलाबद्धरुपमा कित्ताकाट गर्ने खेल भएको आरोप लगाउनु भएको छ । नेकपा (एमाले) स्कूल विभागले प्रेस चौतारी नेपालका पदाधिकारी र सदस्यका लागि सञ्चालन गरेको पाँच दिने स्कूलको समापन कार्यक्रममा बोल्दै उहाँले यस्तो आरोप लगाउनु भएको हो । उहाँले नेपाल टुक्र्याउने गम्भीर षड्यन्त्र भइरहेको भन्दै एमाले त्यसको विरोधमा उभिँएको दाबी गर्नुभयो । ‘अहिले ५ नम्बर प्रदेशका तीन वटा जिल्लालाई पहाडबाट अलग्याउनेगरी किस्ताबन्दीको प्रस्ताव आएको छ’ उहाँले भन्नुभयो, ‘चौथो पटकसम्म एक दुई गर्दै अब भन्दै १ नम्बर र ७ नम्बरका जिल्ला हटाउने प्रस्ताव आउनेछ, अनि नेपाल कसका लागि कित्ताकाट गरिदिने ? यो सिधै देशलाई विभाजन गर्ने र पहाड र तराई छुट्याउने षड्यन्त्र हो ।’ उहाँले ९८ प्रतिशतको सहमति भएको संविधानलाई दुई प्रतिशतले दम्भ देखाएर अन्तरिम संविधानमा उल्लेख भए बमोजिम हुनुपर्छ भन्दै हल्ला गरेको भन्दै त्यो नेपालका नेपालीको माग नभएको पनि दाबी गर्नुभयो ।
उहाँले अहिले केही राजनीतिक दलहरुले उठाएका माग अरु कसैले बोकाएका पैठारी एजेण्डा भएको भन्दै त्यस्ता एजेण्डाप्रति एमालेको विमति रहेको पनि बताउनुभयो । ‘पैठारी एजेण्डा एमालेले मान्दैन,’ उहाँले भन्नुभयो, ‘एजेण्डा पैठारी नै भए पनि देशको हितमा भयो भने मान्ने हो, नभए किन मान्ने ?’
उहाँले नागरिकता विषयमा पनि यो भन्दा सहज केही गर्न नसकिने दाबी गर्नुभयो । ‘बिहान विवाह गरेपछि बेलुकी विवाह दर्ताका आधारमा नागरिकता पाईन्छ संसारमा कसले यसरी नागरिकता दिन्छ ? एमालेको तर्फबाट विद्वानहरुलाई चुनौति छ, विश्वभरको व्यवस्थाबारे नेटमा सर्च गरेर हामीलाई देखाइदिए पुग्छ । हामी संशोधनका लागि तयार छौं, तर संसारमै नभएको यो व्यवस्था तपाईंहरु संशोधनका लागि तयार हुनुहुन्छ ?’ उहाँले प्रश्न गर्नुभयो
उहाँले संविधानले अर्को प्रधानमन्त्रीको कुनै पनि व्यवस्था नगरेको स्मरण गराउँदै आफूले अटेर गरेको भए अहिलेसम्म पनि आफैँ प्रधानमन्त्री रहिरहने दाबी गर्नुभयो ‘संविधानले अर्को प्रधानमन्त्री बन्ने कुनै अधिकार दिएको थिएन,’ उहाँले भन्नुभयो, ‘साथीहरुले प्रधानमन्त्री बन्ने रहर गर्नुभयो, बाधा अड्काऊ फुकाउ धारा प्रयोग गरेर भए पनि प्रधानमन्त्री बन्ने बाटो खुला गरेर मैले राजिनामा दिएँ ।