पोखरामा अल्ट्रालाइट दुर्घटना, चालकको मृत्यु

पोखरा । ह्याङग्लाइडर उडाउने क्रममा एभिया क्लबले पोखरामा सञ्चालन गर्दै आएको अल्ट्रालाइट जहाज आज दुर्घटनामा परेको छ ।
दुर्घटनामा परी एभिया क्लबमा कार्यरत रसियन पाइलट अलेक्जेन्डर म्याक्सिमोभको मृत्यु भएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक मोहनमणि अधिकारीले जानकारी दिनुभयो ।
आज बिहान कास्कीकोटको लौरुकस्थित आफ्नै हवाइ मैदानमा भएको दुर्घटनामा क्यानेडियाली महिला जिलेनी भोल्कर घाइते भएको उहाँले जानकारी दिनुभयो ।
एभिया क्लबका अनुसार म्याक्सिमोभ १४ वर्षदेखि पोखराको आकाशमा अल्ट्रालाइट जहाज उडाउँदै आएका पाइलट हुनुहुन्छ ।
अल्ट्रालाइट जहाजले पुछारमा अड्याइएको मसिनो डोरीले तानेर उचाइमा पु¥याएपछि ह्याङग्लाइडिङ छाडिदिन्छ । त्यसपछि ह्याङग्लाइडिङ स्वतन्त्ररुपमा उड्न सक्छ । पर्यटक सवार ह्याङग्लाइडिङलाई तानेर उडाउने क्रममा म्याक्सिमोभले उडाएको जहाजले सन्तुलन गुमाउँदा दुर्घटना भएको थियो ।
अल्ट्रालाइटले तानेको ह्याङग्लाइडिङको डोरी चुडिएपछि जहाजले सन्तुलन गुमाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको अधिकारीले जानकारी दिनुभयो ।