सेनासँग पराजित भएपछि अलेप्पोबाट हजारौँ विद्रोही र तिनका परिवार अन्यत्र जाँदै

अलेप्पो । सिरियाको द्वन्द्वग्रस्त शहर अलेप्पोको विद्रोही नियन्त्रित क्षेत्रबाट घाइते गैरसैनिकहरुलाई अन्यत्र लैजाने कार्य आरम्भ भएको छ।
सिरियाली अरब रेड क्रेजन्ट र रेड क्रसका अधिकारीहरुले घाइतेहरुलाई चिकित्सा उद्धार विन्दुसम्म ल्याउन सघाइरहेका छन्।
हजारौं सिरियाली विद्रोही तथा तिनका परिवारजनलाई पनि सरकारी घेराबन्दीको स्थानबाट इड्लिब र अलेप्पो प्रान्तकै अन्यत्र विद्रोही नियन्त्रित इलाकाहरुमा स्थानान्तरण गरिंदैछ।
सिरियाली सरकारी टेलिभिजनमा कम्तीमा पनि १० वटा एम्बुलेन्स र हरियो रंगका बसहरुको ठूलो लस्कर पूर्वी अलेप्पोबाट बाहिर निस्केको दृश्य देखाइएको छ।
सिरियाली टेलिभिजनले अलेप्पोको पूर्वी क्षेत्रबाट चारहजार जना विद्रोही तथा तिनका परिवारजनलाई स्थानान्तरण गरिने र त्यसका लागि आवश्यक सबै प्रकृया तयार रहेको जनाएको थियो।