संविधान संशोधन प्रस्ताव अगाडि बढाउने निर्णयसँग संसदमा मुठभेडको सम्भावना

काठमाडौँ। व्यवस्थापिका–संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावको प्रक्रिया अघि बढाइने भएको छ । सहमतिविना यो प्रस्ताव अगाडि बढाउँदा संसदमा मुठभेडको सम्भवना बढेको छ ।
उक्त प्रस्तावबारे सत्तारुढ दल र मधेसी मोर्चाबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकपछि संशोधन प्रक्रिया अघि बढाउने निर्णय भएको हो ।
पुस ४ गतेसम्म सहमतिका लागि सक्दो पहल गर्ने र सहमति नभएको खण्डमा सोही दिन व्यवस्थापिका–संसदमा संशोधन प्रस्तावको प्रक्रिया अघि बढाउने निर्णय भएको नेपाली काँग्रेसका मुख्य सचेतक चिनकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
“यदि एमालेको संविधान संशोधनप्रति विरोध हो, असहमति छ भने संसदीय प्रक्रियामा आएर सरकारले दर्ता गरेको प्रस्तावलाई संसदीय प्रक्रियाद्वारा नै पारित हुन नदिन सक्छ, तर संसद्लाई अनिर्णयको बन्दी बनाएर सिङ्गो देशलाई नै अनिर्णयको बन्दी बनाउने, संविधान कार्यान्वयन प्रक्रियामा अवरोध खडा गर्ने कुरा जिम्मेवार प्रतिपक्षले गर्नु हुँदैन” – नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले बैठकपछि भन्नुभयो ।
संसद्मा दर्ता भएको प्रस्तावलाई परिमार्जन गर्नुपर्ने माग गर्दै आएको मधेसी मोर्चाको मागलाई पनि संसद् सञ्चालन भएपछि सम्बोधन गर्नेबारेसमेत छलफल भएको उहाँको भनाइ थियो ।