संविधान संशोधन प्रस्ताव स्थगन गर्न महासचिव पोखरेलको जोड

maitrinews

बाग्लुङ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले संसदमा दर्ता भएको संशोधन प्रस्ताव स्थगन गर्नुपर्ने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल बाग्लुङ शाखाले आज आयोजना गरेको पत्रकार भेटघाटमा नेता पोखरेलले संविधान संशोधन अहिलेको आवश्यकता नभएको उल्लेख गर्दै भन्नुभयो, “सरकारले संशोधन प्रस्ताव फिर्ता लिन नसक्ने हो भने स्थगन गरोस् । ”
उहाँले अहिलेको संशोधन प्रस्ताव राष्ट्रिय हितको प्रतिकूल रहेको जिकिर गर्दै संविधान संशोधनको विपक्षमा एमाले नरहेको तर अभ्यास, अनुभव र औचित्यका आधारमा मात्र संविधान संशोधन हुन सक्ने विचार राख्नुभयो । संशोधन प्रस्तावमा ल्याइएका भाषा, नागरिकता, प्रतिनिधित्व र सीमा हेरफेरसम्बन्धी बुँदामा एमाले सहमत हुन नसक्ने उहाँको भनाइ छ ।

“प्रदेशको सीमा हेरफेर हुन सक्छ तर संवैधानिक व्यवस्था अनुसार हुनुपर्छ” नेता पोखरेलले भन्नुभयो “प्रदेशसभालाई मात्र त्यो अधिकार छ, संविधानको धारा २७४ मा त्यो स्पष्ट किटान गरिएको छ ।”
संशोधन प्रस्तावमा छलफल समेत हुन नदिइने बताउँदै नेता पोखरेलले सरकारलाई निर्वाचनको तयारीमा लाग्न आग्रह गर्नुभयो । “संशोधन प्रस्ताव स्थगन गरेर सरकारले मुलुकलाई निर्वाचनतिर लगोस्, एमाले पूर्ण रुपमा सहयोग गर्न तयार छ” पोखरेलले भन्नुभयो । निर्वाचनसँगै संविधान पनि कार्यान्वयनमा जाने उहाँको भनाइ छ ।