मधेसी मोर्चाविना पनि निर्वाचन सम्भवः बिजुक्छे

maitrinews

भक्तपुर। नेपाल मजदुुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले निर्वाचनका सवालमा कुनै पक्षबाट धम्की आए तत्कालै सरकार छाड्नुपर्ने बताउनुभएको छ ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेले सार्वभौम सरकारले भित्री वा बाहिरी पक्षको धम्कीका कारण निर्वाचनलाई पर धकेल्न नहुने बताउनुभयो ।

मधेसी मोर्चा बिना नै निर्वाचन सम्भव रहेको भन्दै बिजुक्छेले तत्काल निर्वाचन सम्भव भएको स्थानमा निर्वाचन गर्ने र बाँकी रहेका स्थानमा पछि निर्वाचन गर्न सकिने बताउनुभयो ।

उहाँले संसद्मा संशोधन विधेयक फिर्ता नलिए सरकारको आयु सकिने भन्दै संसद्बाटै निर्वाचनसम्बन्धी विधेयक पास गरी तोकिएकै समयमा सम्भव भएका स्थानमा निर्वाचन हुने बताउनुभयो ।

निर्वाचनअघि नै सत्ता समीकरण बदल्न सक्ने अवस्था हिजो पनि रहेको र आज पनि रहेको भन्दै नेता बिजुक्छेले माओवादीकै कारण एमाले र काँग्रेसको समीकरणमा नयाँ सरकार बन्ने टिप्पणी गर्नुभयो ।

उहाँले अङ्गीकृत नागरिकलाई जसरी जन्मसिद्ध नागरिकसरह अधिकार दिने चलखेल हुँदैछ, दक्षिणतर्फका लागि मात्र नभएर उत्तरतर्फकाले समेत यो अधिकार मागे नेपालीभन्दा विदेशी जनसङ्ख्या बढी हुने र नेपाली अल्पमतमा पर्ने दाबी गर्नुभयो ।