सरकार परिवर्तन भए पनि परराष्ट्र नीति परिवर्तन हुँदैन : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चीनसँगको नेपालको परराष्ट्र नीति अपरिवर्तनीय रहेको जनाउँदै एक चीन नीतिप्रति नेपाल सधँै प्रतिबद्ध रहेको बताउनुभएको छ ।
चीन अध्ययन केन्द्र र चिनियाँ समाचार संस्था सिन्ह्वाले आज यहाँ आयोजना गरेको ‘चीन–नेपाल विद्वत समूह सम्मेलन’ – चाइना नेपाल थिङ्क ट्याङ्क कन्फरेसन्स्) को उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री ओलीले जुनसुकै पार्टीले सरकारको नेतृत्व गरे पनि चीनप्रतिको नेपाल नीति परिवर्तन हुँदैन, एक चीन नीतिमा यहाँका सबै दल अडिग छन् भन्नुभयो ।
संविधान कार्यान्वयन अहिलेको अपरिहार्य आवश्यकता रहेको भन्दै उहाँले त्यसमा चीनलगायत सबै छिमकी र विश्व समुदायको सहयोग चाहिने उल्लेख गर्नुभयो । दुई देशका बीचमा आर्थिक सम्बन्ध विस्तार व्यापार आदान प्रदानबारे आफ्नो सरकारको पालामा भएका सन्धि सम्झौताको कार्यान्वयनमा शिथिलता आएको अध्यक्ष ओलीको भनाइ थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकारी अध्यक्ष कमल थापाले नेपाल दुवै छिमेकी मुलुकसँग समदूरीको सम्बन्ध बढाउन चाहने र सडक, हवाई र सम्पर्क विस्तारका क्षेत्रमा दुवै देशको आर्थिक ‘ट्रान्जिट पोइन्ट’ नेपाललाई बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नयाँ शक्ति नेपालका नेत्री हिसिला यमी, सङ्घीय समाजवादी फोरमका नेता शिवजी यादवलगायतले दुई देशको सम्बन्धबारे प्रकाश पार्नुभएको थियो ।