कुलेश्वरमा भीषण आगलागी, एक करोडभन्दा बढीको क्षति

 

काठमाडौं । कुलेश्वरस्थित नबिल बैंक अगाडिका पसलमा गए राति भीषण आगलागी भएको छ । कुलेश्वर आवास क्षेत्रछेउको कृषि सामग्री संस्थानको गोदाम र पाँचतले घरको बीचको फराकिलो स्थानमा बनाइएका एक दर्जनभन्दा बढी टहरामा राति ८ बजेतिर आगलागी भएको हो ।
आगो निभाउन जुद्ध वारुणयन्त्र काठमाडौंका तीनवटा, ललितपुरको एक, भक्तपुरको एक र नेपाली सेनाको एक दमकल क्रियाशील थिए । ३० निजी पानी ट्यांकर र नेपाली सेनाको एउटा ट्यांकर प्रयोग गरिएको जानकारी जुद्ध वारुणयन्त्र काठमाडौंका प्रमुख किशोरकुमार भट्टराईले दिनुभयो । उहाँले ६ वटा दमकलसँगै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, फाइटफाइटरलगायत खट्दा पनि आगलागी पूर्ण नियन्त्रणमा आएन । राति ११ बजे आगो नियन्त्रणमा आएको उहाँले बताउनुभयो पसलहरूमा प्रज्वलनशील सामग्रीहरू बढी रहेकाले आगो नियन्त्रणमा समस्या भएको हो ।
चारवटा होटेल, कार्पेट हाउस, गोदाम, कस्मेटिक पसल, टहरालगायतमा आगलागी भएको महानगरीय प्रहरी वृत्त कालीमाटीले जनाएको छ । तीनतिरबाट आगो निभाए पनि अढाइ घन्टासम्म आगो नियन्त्रणमा आउन नसकेको महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी नवराज अधिकारीले बताउन्ुभयो ।
उहाँका अनुसार एक करोडभन्दा बढीको क्षति भए पनि क्षतिको विवरण यकिन गर्न सकिएको छैन । स्थानीयलाई उद्धृत गर्दै उहाँले कस्मेटिक पसलबाट ग्यास लिक भएर आगलागी भएको बताउनुभयो ।