अहिले हाम्रो अर्जुनदृष्टि स्ववियु निर्वाचन हो, महाधिवेशनको चर्चा पछि गरौँला —रश्मी आचार्य , उपाध्यक्ष, अनेरास्ववियु

फागुन १४ का लागि त्रिभुव विश्वविद्यालयले स्ववियु निर्वाचनको मिति तोकेको छ । करिब १० वर्षपछि हुन लागेको निर्वाचनका सन्दर्भमा अहिले पनि केही आशंकाहरु पैदा भएका छन् । स्ववियु निर्वाचनसँगै केन्द्रित भएर अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष रश्मी आचार्यसँग मैत्री न्युज डटकमले गरेको कुराकानीः

फागुन १४ मा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने वा नहुनेमा अहिले पनि अन्योल छ । तपाईँ अनेरास्ववियुको उपाध्यक्ष र पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति पनि भएको नाताले भन्दा के भन्नुहुन्छ । फागनु १४मा निर्वाचन हुन्छ ?

फागुन १४ मा स्ववियु निर्वाचन हुन्छ । त्रिभूवन विश्वविद्यालयले स्ववियु निर्वाचनका सबै तयारी पूरा गरेर नै फागुन १४ का लागि निर्वाचन मिति घोषणा गरेको हो । सिनेट बैठकले पनि सबै तयारी पूरा भएपछि नै निर्वाचन प्रक्रिया अघि बढाउने भन्दै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । 

त्योसँगै अनेरास्वविय मात्र होइन, अन्य विद्यार्थी संगठनहरुले पनि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन फागुन १४ मै हुन्छ भनेर त्यसको तयारीलाई तीव्र बनाएका छन् । क्याम्पस वरिपरी पेन्टिङ, गर्ने, पर्चा बनाउने, आन्तरिक भेलाहरु गर्ने, प्रचार–प्रसार गर्ने जस्ता कामलाई उनीहरुले तीव्रता दिएका छन् । यी आधारले पनि स्ववियु निर्वाचन फागनु १४ मै हुने आधारहरु तय हुँदै आएको छ ।

तर, दोस्रो ठूलो विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले त उमेर हदको विषयलाई लिएर फागुन १४मा चुनाव गर्न नदिने जस्तो प्रतिक्रिया दिदैँ आएको छ नि ?

नेवि संघले उमेर हदलाई नै मूख्य एजेण्डा बनाएर निर्वाचन नै हुन दिनेछैनौँ भनेर अहिलेसम्म औपचारिक रुपमा भनेको छैन । नेवि संघ भित्रकै एउटा सानो तप्काले हामी २८ वर्षे उमेर हद मान्दैनौँ भनेर हल्ला गरेका भरमा केही होला जस्तो लाग्दैन । हो, केही कजलेहरुमा तालबन्दी भएको पनि सत्य हो । तर, पार्टी नेतृत्वले नै चुनावी प्रक्रियामा अघि बढ्न निर्देशन दिएको अवस्थामा त्यस्ता सामान्य विरोधले केही असर गर्दैन ।
यदि माथिबाट चुनावमा लाग्न निर्देशन पनि दिने अनि तल तिमीहरु विरोध गर् है पनि भन्दै गर्ने हो भने त्यो नेवि संघको दोधारे चरित्र हुनेछ । त्यस्ता दोधारे चरित्रप्रति पनि अनेरास्ववियु सचेत भएर अघि बढ्ने छ । म अनेरास्ववियुको उपाध्यक्ष र स्ववियुका बारेमा निकै लामो अनुभव पनि बटुलेको व्यक्ति भएको नाताले नेवि संघलाई सुझाव दिन चाहन्छु । यदि त्यस्तो हो भने तपाईँहरुलाई नै घाटा हुनेछ ।

अनेरास्ववियु इतिहासमा कहिल्यै पनि दोस्रो भएको छैन । यो विरासत यस पटक पनि टिकाउन सक्नुहुन्छ ?

पञ्चायत, बहुदलीय व्यवस्था वा गणतन्त्र स्थापना जहिल्यै अनेरास्ववियु दोस्रो भएन, इतिहास पनि यही हो । हो, अनेरास्ववियुको माउ पार्टी एमाले कहिले पहिलो भयो, कहिले दोस्रो भयो, कहिले तेस्रो पनि भयो । तर, अनेरास्ववियुले दोस्रो वा तेस्रो स्थानमा कहिले पुग्नु परेन ।
अहिले अनेरास्ववियुको गतिशीलता, तल–तल अनेरास्ववियुका विद्यार्थीले उठाएको मुद्धा यी सबै कुरालाई हेर्दा अनेरास्ववियु यस पटक पनि दोस्रो हुने हामी कल्पना गरेकै छैनौँ । हामी अहिले एजेण्डामा पनि बलियो छौँ । पार्टीले उठाएको राष्ट्रियताको मुद्धाले पनि हामीलाई निर्वाचन जित्न झन सहज हुनेमा हामी ढुक्क छौँ । राष्ट्रियताको मुद्धामा अहिले कुनै विद्यार्थी सडकमा छ भने त्यो विद्यार्थी संगठन अनेरास्ववियु नै हो । त्यो तल–तलका विद्यार्थीले पनि राम्ररी बुझेका छन् । राष्ट्रियता संकटमा परिरहेका बेला राष्ट्रियताको रक्षाका लागि पनि अनेरास्ववियुले जित्नुपर्छ भन्ने आम विद्यार्थीको धारणा बनेको छ । म एउटा विश्वास दिलाउँ । विगतमा नजितेका कलेजहरुमा पनि यो पटक अनेरास्ववियुले विजयको झण्डा फहराउने छ ।

तीन–तीन वटा सर्कुल जारी भएका छन् । यस्तो अवस्थामा अनेरास्ववियु भित्रको आन्तरिक विवादले नै अनेरास्ववियुलाई जित्न त्यति सजिलो छैन भन्ने पनि छ नि ?

आन्तरिक विवादलाई सडकमा ल्याउने र हल्ला–खल्ला गर्ने समय यो होइन । होला केही विवाद अनेरास्ववियु भित्र होला । तर, अहिले यो निर्वाचनका बेला कुनै पनि नेताबाट यस्तो आवाज निस्किनेवाला छैनन् । हाम्रो अर्जुनदृष्टि भनेको नै स्ववियु निर्वाचन हो । हामी सबैको अर्जुनदृष्टि स्ववियु निर्वाचन भएपछि कुनै पनि विवाद सडकमा आउलान भन्ने हामीले मात्र होइन मुलुकभरीका अनेरास्ववियुका कार्यकर्ताले पनि कल्पना नगर्दा हुन्छ ।
यो निर्वाचनको लडाईँ अरु संगठनसँग हो । त्यो विवेक सबै अनेरास्ववियुका नेता–कार्यकर्तामा छ । विवेकशील नेता–कार्यकर्ता विवेकपूर्ण ढंगले नै मैदानमा आउनुहुन्छ, यसमा हामी ढुक्क छौँ । उम्मेदवार चयनमा पनि हामीले यो यसको, यो उसको भनेर विभेद गर्ने छैनौँ । उसको योग्यता, क्षमता, उसको त्यस कलेजको क्रियाशीलता, लोकप्रियता यस्ता सबै कुरालाई ख्याल गर्ने छौँ । यो पटकको उम्मेदवार मेरो वा अरुको चयन हुने छैन । अनेरास्ववियुलाई त्यस क्याम्पसबाट जिताउन सक्ने क्षमता भएको अनेरास्ववियुको नेता चयन हुनेछ । नेतृत्वको ध्यान पनि त्यसैमा केन्द्रित हुनेछ । म ढुक्कसाथ भन्छु– स्ववियु निर्वाचनमा उम्मेदवार चयन गर्दा कुनै गुट वा व्यक्तिको होइन, अनेरास्ववियुको हुनेछ ।

विद्यार्थी संगठन वैचारिक र शैक्षिक मुद्धामा भुत्ते भए । तर, गुण्डागर्दी र चन्दा संकलमा निकै सक्रिय भए भन्ने आरोप छ । अनेरास्ववियु पनि अछुतो छैन भन्यो भने तपाईँ त्यसलाई स्वीकार गर्नुहुन्छ ?

तपाईँले उठान गरेका विषय सबै ठाउँमा छन् भन्ने कुरालाई त म स्वीकार गर्न सक्दिन । तर, कतै पनि छैन भन्ने कुरा पनि सत्य नहुन सक्छ । मूख्य गरेर अनेरास्ववियुले स्ववियु जितेका क्याम्पसहरुलाई नै मुल्याङ्कन गर्ने हो भने पनि त्यस्ता विकृतिहरु छदैँ छैनन् भन्ने त होइन निकै कम छन् । हामीले अहिले पनि ठेक्का–पट्टा, चन्दा असुली जस्ता कुरालाई बन्देज लगाउनुपर्छ भन्दै आएका छौँ । केही ठाउँमा त्यस्ता प्रयास सफल पनि भएका छन् ।
म सभापति रहेको कलेज पृथ्वीनारायण क्याम्पसकै कुरा गर्ने हो भने त्यो क्याम्पसको स्ववियुलाई त्रिभूवन विश्वविद्यालयले ‘नमुना स्ववियु’का रुपमा घोषणा गरेको स्ववियु हो । हामी कहिँ त्यस्ता समस्या छन् भने आगामी दिनमा सच्याउँदै जानेछौँ । हामी स्ववियुप्रति विकर्षण होइन आकर्षण बढाएर जाने छौँ ।

अनेरास्ववियुको आगामी निर्वाचनलाई केन्द्रित गरेर पनि यो स्ववियु निर्वाचनमा घात–अन्र्तरघात हुने सम्भावना छ, भनिन्छ नि ?

मैले अघि पनि भने. । अहिले हामीले फागुन १४ मा हुने स्ववियु निर्वाचन बाहेक केही देखेका छैनौँ । हाम्रो अर्जुनदृष्टि नै स्ववियु निर्वाचन हो । फागुन १४ सम्म हामीले स्ववियु निर्वाचन बाहेक केही सोचेका छैनौँ । यो निर्वाचनमा अनेरास्ववियुको आगामी महाधिवेशनको कुनै झल्को देखिने छैन । माथिको नेतृत्वले पनि यो कुरामा विवेक पुर्याउँछ भन्ने मैले ठानेको छु । महाधिवेशन आउन अझै एक वर्ष बाँकी छ । त्यसको तीन महिना अघि मात्र हामी चुनावी तयारीमा लाग्ने छौँ । खरायो जस्तो कुदेर केही हुँदैन । जीत कछुवाकै हुन्छ ।

स्ववियु भनेको सभापति मोटाउने र स्ववियुकोषको दुरुपयोग गर्ने मात्र हो भन्ने पनि अरोप छ नि, हो ?
स्ववियु परिचालनका आ–आफ्नै सीमा र मर्यादाहरु छन् । स्ववियुले परिचालन गर्ने स्रोत पनि विश्वविद्यालयले पहिचान गरेको छ । ती किटान गरेका वा पहिचान गरेका स्रोतलाई कसैले विद्यार्थीको हकहितमा, शैक्षिक एजेण्डामा प्रयोग गरेका हुन्छन् । अब कसैले दुरुपयोग गरे भने त त्यो उनीहरुको कमजोरी भयो । त्यस्ताहरुलाई छुट दिनु हुँदैन भन्ने मेरो मान्यता हो । म मेरो क्याम्पसको जिम्मेवारी लिन सक्छु । म सभापति भएको कलेजमा मैले सबै हिसाव–किताव दुरुस्त बनाएको छु ।