जय नेपाल नगर्दा ट्राफिक प्रहरी हवल्दार उपर कुटपिट–ट्राफिक युनिफर्ममा नै हत्थकडी लगाइयो

maitrinews

काठमाडौ। जय नेपाल नगरेको झोकमा प्युठान प्रहरी प्रमुखले जिल्लामा कार्यरत एक ट्राफिक प्रहरी हवल्दारलाई कुटपिट गरेका छन् ।

प्रहरी कार्यालयको हिरासतमा चार घण्टा राखेर त्यस ट्राफिक हवल्दारलाई कुटपिट गरेको खुलासा भएको छ। प्युठानको विजुवारको क्वाडी सडकमा ड्युटीमा रहेका अस्थायी प्रहरी पोष्ट विजुवारका प्रहरी हवल्दार त्रिचन्द्र डीसीलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर त्यसप्रकारको अमानविय कार्य गरेको बुझिएको छ।

Puthan Traffic DC

सोमबार दिउँसो प्युठान प्रहरी प्रमुख रञ्जीतसिंह राठौरले कार्यालयमा बोलाएर कुटपिट गरेको हवल्दार डिसीले बताएका छन् । ट्राफिकको युनिफर्ममै हत्कडी लगाएर चार घण्टा हिरासतमा राखी आफूलाई मरणासन्न हुने गरी कुटपिट गरेको डीसीले अन्नपूर्ण पोष्टलाई भनेका छन्।

म र एकजना भाइ क्वाडीमा नियमित चेकिङमा थियौं । एक छेउमा जरिवाना काटिरहेको थिएँ । त्यही बेला प्रमुख जिल्ला अधिकारी र डिएसपीसाप आउनु भएछ । काममा भएकोले देखिँन । अर्को भाइ सडकमै थियो, उसले देखेछ। मैले नदेखेकोले जय नेपाल गर्न सकिनँ । पछि त्यही निहुँ बनाएर मलाई जिल्ला प्रहरीमा बोलाई कुटपिट गरे,’ डीसीले भने।
‘चारघण्टा अपराधी झैं हतकडी लगाएर हिरासतमा राखियो,’ डीसीले भने, ‘डिएसपीसाबको कुटाइले मेरो बायाँ हातमा चोट लागेको छ । नीलडाम छन्। युनिफर्मको ज्याकेट च्यातिएको छ ।’ डिएसपीको निर्देशनमा हतकडी लगाएर अस्पताल लगी मेडिकल समेत गराएको डीसीले बताए ।

जिल्ला प्रहरी प्रमुख डिएसपी राठौरले भने अनुशासनहिन काम गरेकाले कार्यालयमा बोलाएर सामान्य सोधपुछमात्रै गरेको बताएका छन् । कार्यालयमा पनि सोधपुछको बेला अटेर गरेकाले हतकडी लगाइएको राठौर भन्छन्।
प्रकाशन मिति–२०७३ साल माघ २६ गते बुधवार ।