प्रहरी महानिरीक्षको विषयमा देउवा र प्रचण्डबीच चर्काचर्की

काठमाडौँ । नेपाल प्रहरी राजनीतिको शिकार बन्दै छ । नेपाल प्रहरीको महानिरीक्षक कसलाई बनाउने भन्नेबारे सत्तारुढ दलहरुबीच चर्को विवाद भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवावीच यही विषयमा विवाद चर्किएको छ । यही विवादका कारण आज बस्ने भनिएको मन्त्रिपरिषद बैठकसमेत स्थगित भएको छ ।
यही साता अवकाश पाउन लागेका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालका ठाउँमा बरियताका आधारमा डीआइजी नवराज सिलवाललाई आईजीपी बनाउनुपर्ने अडानमा प्रधानमन्त्री प्रचण्ड उभिनुभएको छ । प्रहरीको चेन अफ कमाण्डलाई ख्याल गर्दै सिलवाललाई नै आइजी बनाउनुपर्ने प्रचण्डले बताए पनि देउवाले चाहिँ तेस्रो बरियताका डीआर्इजी जयबहादुर चन्दलाई आइजीपी बनाउन प्रधानमन्त्रीलाई दबाव दिनुभएको छ । ।
‘देउवाजीले चन्दलाई आइजी नबनाउने हो भने राजीनामा दिन गृहमन्त्री विमलेन्द्र निधीलाई चेतावनी दिइसक्नुभएको छ, कांग्रेसका मन्त्रीहरुलाई पनि क्याबिनेटमा सिलवालको प्रस्ताव आएमा विरोध गर्न निर्देशन दिनुभएको छ ।’
सिलवाललाई नबनाउने हो भने दोस्रो बरियताका प्रकाश अर्याललाई बनाऔं न त भनेर प्रधानमन्त्री प्रचण्डले देउवालाई विकल्प दिइएको छ । अहिलेसम्म बरियता मिच्दा पनि दोस्रो भन्दा तल गएको इतिहास नरहेको भन्दै प्रधानमन्त्रीले तेस्रो बरियतामा जानै नसकिने बताए पनि देउवाले भने जसरी पनि चन्दलाई बनाउनै पर्छ भनेर अड्डी कसेपछि प्रधानमन्त्रीले आज बस्ने मन्त्रिपरिषद बैठक नै स्थगित गरिदिनुभएको छ ।
विहीबार बिहानै बालुवाटार पुगेका मुख्यसचिव सोमलाल सुवेदीलाई प्रधानमन्त्रीले बैठक स्गथित भएको सूचना मन्त्रीहरुलाई दिन भन्नुभयो ।
तेस्रो बरियताका डीआइजी चन्दले आफू पनि सुदुरपश्चिमको भएको र आफूलाई आइजीपी बनाए कांग्रेसलाई चुनाव जित्न सजिलो हुने देउवालाई आश्वासन दिएको बताइएको छ । साथै उहाँले कांग्रेसका विभिन्न जिल्लासभापति मार्फत् देउवालाई कन्भिन्स गरेको स्रोत बताउँछ ।
बहालवाला एआइजीहरुले पनि उपेन्द्रकान्त अर्यालसँगै फागुन ३ गतेदेखि अवशकाश पाउने भएकाले डीआइजीहरुबाट आइजीपी छनोट गर्न लागिएको हो । देशभरिका २६ डीआर्इजीमध्ये नवराज सिलवाल पहिलो बरियतामा, दोस्रोमा प्रकाश अर्याल र तेस्रोमा जयबहादुर चन्द हुनुहुन्छ ।