मधेसी दललाई ओलीको कडा जवाफ, ‘एमाले सूर्य हो, हत्केलाले छेक्ने प्रयास नगर्दा राम्रो’

काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले एमाले मधेस र मधेसी जनता विरोधी भन्ने हल्लाहरु झूटको पुलिन्दा मात्र भएको प्रतिक्रिया दिनुभएको छ । एमाले मुख्यालय धुम्वाराहीमा संघीय समाजवादी फोरम नेपाल परित्याग गरी एमाले प्रवेश गरेका नेताहरुलाई एमालेमा प्रवेश गराउने कार्यक्रममा सम्बोधन गर्दै उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो । उहाँले आफुले ४० वर्ष अघि भूमिगत राजनीति गर्दा आश्रय लिएका परिवारका मानिसहरु नै एमालेमा प्रवेश गरेको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले पार्टीको नीति, विचार र सिद्धान्त ठीक लागेर एमालेमा प्रवेश गरेको भन्दै सबैलाई उचित जिम्मेवारी दिने पनि बताउनुभयो । उहाँले एमाले सूर्य भएको भन्दै कसैले कहिलेकाहीँ हत्केलाले छेक्न खोजेपछि त्यो सत्य नहुने दाबी गर्नुभयो । उहाँले त्यसरी एमालेलाई छेक्क खोज्नेलाई साहुको समेत संज्ञा दिनुभयो । ‘कहिले काहीँ सूर्यलाई राहुले छेक्न खोज्छ,’ ओलीले भने सबै भन्दा शक्तिशाली ग्रह सूर्यलाई त कुनै बेला खण्डग्रास होइन खग्रासले नै आएर छोपिदिन्छ,’ उहाँले भन्नुभयो, ‘तर, स्थायीत्व सूर्यकै हुन्छ राहुहरु त अस्थायी मात्र हुन् ।’
उहाँले मधेसतिर क्षेत्रीय दल खोलेर केही साथीहरुले जिन्दगी भनेको नै राजनीतिक गफ हो भने झैँ गरेको भन्दै व्याङ्ग्य पनि गर्नुभयो । क्षेत्रीय दल खोलेर राजनीतिक गफ गरे पनि जनता एमालेको पक्षमा रहेको भन्दै उहाँले एमाले राष्ट्रिय–अन्तराष्ट्रिय शक्ति भएको दाबी गर्नुभयो । ‘कहिले काहीँ त नत्र आन्दोलन भनेर केही साथीहरु हाँसिमजाक पनि गर्छन्,’ ओलीले मधेसी दलप्रति संकेत गर्दै भन्नुभयो, ‘एमाले सूर्य जस्तै शक्तिशाली छ, यसलाई एकछिनको खग्रास ग्रहणले छुँदैन । एमाले केही साथीहरुको जस्तो दवाव समूह पनि होइन । यो नेपालव्यापि पार्टी हो ।’उहाँले क्षेत्रीय दललाई दवाव समूहको समेत संज्ञा दिनुभयो । त्यस्ता दलले राष्ट्रको हित गर्न नसक्ने उहाँको दाबी थियो । ‘अहिले कसैको खर्चमा सानो झण्डा बनाएर एमालेलाई मधेस चाहिँदैन भने मधेसी जनतालाई पनि एमाले चाहिँदैन भनेर भ्रम फैलाउने काम भैरहेको छ,’ उहाँले भन्नुभयो, ‘त्यस्ता भ्रम फैलाउनेलाई आज उहाँहरु (संघीय समाजवादी फोरम नेपाल परित्याग गरेर एमाले प्रवेश गरेका)ले मुखमा नआँट्ने जवाफ दिनुभएको छ ।’ मधेसका मसिहा हुँ भन्नेहरुले मधेसी जनताको गास, बास र कपासको चिन्ता कहिल्यै नलिएको पनि उहाँले आरोप लगाउनुभयो ।