जनतालाई अधिकार सम्पन्न बनाउन पुरक संशोधन प्रस्ताव आवश्यक : श्रेष्ठ

नवलपरासी । सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा नवलपरासी जिल्लाको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
जिल्ला अध्यक्ष धरेन्द्र प्रसाद यादवको अध्यक्षतामा रामग्राममा भएको उक्त कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथि श्रेष्ठले नेपाल सरकारद्वारा दर्ता गरेको वर्तमान संविधान संशोधन प्रस्ताव यथास्थितिमा पारित भए पनि जनताको अधिकार सुनिश्चित नहुने बताउँदै त्यसमा परिमार्जन र पूरक प्रस्ताव आवश्यक भएको बताए । उनले थप प्रस्तावको रूपमा न्युनतम रूपमा पनि उत्पीडित समुदायको पहिचानको मान्यता सहितको सङ्घीय संरचना, समानुपातिक समावेशी, स्थायी सङ्घीय आयोगको व्यवस्था, विशेष संरचनाहरूको निर्माण, प्रदेशको क्षेत्राधिकारभित्र स्थानीय तह हुने लगायतका विषयहरूमा संविधान संशोधनको प्रस्ताव ल्याउनु पर्ने बताए ।
प्रमुख अतिथि श्रेष्ठले भारतमा नेहरुहरूले पहिचानको मुद्दा ब्रिटिश साम्राज्यवादले लाडेको भन्दै अस्विकार गर्दा देश विभाजन भएकाले पछि त्यसलाई सच्याएको र पहिचानको आधारमा तामिलनाडु, मिजोरम, नागाल्यान्ड आदि राज्यहरू बनेको बताउँदै तेलङ्गनासम्म आइपुग्दा १४ राज्यबाट २९ राज्य भएको बताए । उनले नेपालमा पनि यहाँका नश्लवादी शाासकहरूले पहिचानको मुद्दालाई यूरोपियन युनियनले लादेको भनेर भ्रम सृजना गर्दै आफ्नो नश्लीय शासन प्रदेशहरूमा समेत विस्तार गरेको बताए । नेपालमा सङ्क्रमण कालमा नयाँ प्रदेश बनाउन संविधानले नरोके पनि नयाँ संविधान अनुरूपको संरचनाहरू अस्तित्वमा आएपछि भने संविधानको धारा २७४ ले नयाँ प्रदेश बनाउन अघोषित रूपमा प्रतिबन्ध नै लगाएको भन्दै उनले यो धारा पुनर्लेखन गरी संविधान संशोधन र परिमार्जन नगरे यसैका कारण नेपालमा पहिचान पक्षधर शक्ति जन विद्रोहमा उत्रन वाध्य हुने बताए ।
हिमाल, पहाड र तराइ मधेसलाई एक साथ विउँझाउन सक्ने र देशको राष्ट्रिय एकतालाई जोगाउन सक्ने एक मात्र शक्ति ससफो, नेपाल भएको बताउँदै उनले राउतको विखण्डनवादले देश मर्माहत भएको र यो विचार देशको एकताका लागि खतरा भएको बताए । पार्टी एकताका लागि विभिन्न दलहरूसँग भइ रहेको वार्ताका सन्दर्भमा उनले पार्टीले अगाडी सारेको सिद्धान्त सङ्घीय समाजवाद देशमा लोकप्रिय बन्दै गएको र विभिन्न राजनीतिक शक्तिहरू यस सिद्धान्तप्रति आकर्षित हुँदै गएको बताउँदै सङ्घवाद र समाजवादलाई आदर्श मान्ने सबै शक्तिहरू ढीलो चाँडो पार्टीमा एकीकृत र समाहित हुँदै जाने बताए ।
ससफो नेपालका नवलपरासी जिल्ला सचिव महेन्द्र गुप्ताले सञ्चालन गरेको उक्त कार्यक्रममा पार्टीका उपमहासचिव तथा कपिलवस्तुका सभासद अभिषेक प्रताप शाहले राज्यसत्ता नै विभेदकारी भएकाले नेपालका मधेसी, थारु लगायतले राज्यमा आफ्नो हिस्साका लागि विद्रोहमा उत्रेको बताए । त्यसरी नै केन्द्रीय सदस्य तथा सभासद छाया शर्मा पन्तले देशको परिवर्तन अहिले सम्म संस्थागत नभएकाले देश पछि परेको बताए । पार्टीका केन्द्रीय सदस्यहरू अशोक यादव, डा। पुस्पराज राजकर्णिकार, मुन्नालाल गुप्ता, सानुराजा शाक्य, केन्दीय पार्सद छविलाल मगरको उपस्थिति रहेको उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, नयाँ शक्ति नेपाल, तमलोपा, सद्भावना लगायत विभिन्न राजनीतिक दलका जिल्ला प्रतिनिधिहरूले अधिवेशनमा शुभकामना मन्तव्य दिएका थिए ।
सोहि दिन साँझ सुरु भएको बन्द सत्रले केन्द्रीय सदस्य मुन्नालाल गुप्ताको संयोजकत्वमा केन्द्रीय सदस्य सानुराजा शाक्य, केन्द्रीय सदस्य तथा तराइ थरुहट प्रदेशका प्रतिनिधि अशोक यादव, केन्द्रीय परिषद सदस्य छविलाल मगर र तराइ थरुहट प्रदेशका सदस्य सुश्मिता थापा रहेको अध्यक्ष मण्डल र डा। पुष्पराज राजकर्णीकारको संयोजकत्वमा मुस्ताक अन्सारी, इन्द्रमणी पटेल र विजेन्द्र पटेल रहेको निर्वाचन समिति पनि गठन गरेको थियो । अध्यक्ष मण्डलको तर्फबाट सानुराजा शाक्यले सञ्चालन गरेको बन्द सत्रमा जिल्ला अध्यक्ष धनेन्द्र यादवले राजनीतिक, सचिव महेन्द्र गुप्ताले साङ्गठनिक र कोषाध्यक्ष राजेन्द्र पटेलले आर्थिक प्रतिवेदन पेस गरेका थिए । उक्त अधिवेशनले धरेन्द्र प्रसाद यादवलाई सर्वसम्मतिबाट अध्यक्ष निर्वाचित गरेको छ भने सदस्यहरूमा नरमाया पुन, अमरजित गुप्ता, महेन्द्र प्रसाद गुप्ता, राजेन्द्र पटेल, छविलाल प्रधान, राघवेन्द्र गुप्ता, ओम प्रकाश धरिकार, विरेन्द्र प्रसाद चौधरी, शितला गुप्ता, अनिरुद्ध प्रसाद गौड, परोही यादव, योगेन्द्र प्रसाद यादव, जनार्दन प्रसाद यादव, हरिलाल यादव, रामकुमार गुप्ता, धिरेन्द्र कुमार गिरी, नरेन्द्र गिरी, निल बहादुर यादव, अनिरद्ध प्रसाद गौड, देवीसरा पुलामी, जवाहीर कुर्मी, मदन प्रसाद कुर्मी, अनिता धोवी, रविन्द्र कुमार यादव, रामरती यादव, महरुन निसा, लालु खनाल, प्रजन बहादुर गुरुङ्ग, भीम बहादुर विश्वकर्मा, प्रेम कुमार राई, खिम बहादुर थापामगर, अयोध्या हरिजन, गंगाराम चौधरी, मधु गुरुङ्ग, धनबहादुर गुरुङ्ग, विन्दवासीनि हजाम, ध्रुव नारायण यादव, अमृता गुरुङ्ग, अरसद अन्सारी, कमला गुरुङ्ग, रेशम बहादुर गुरुङ्ग, विन्दा चौधरी, टेक बहादुर पुन, गान्धी कुमाल, राम बहादुर ब्लोन लामा, रिम आले, पदम थापा, लाल बहादुर बोटे, देव बहादुर थापा, किसुन गुरौ, कम्भ सिंह थापा रहेको छ । निर्वाचित अध्यक्ष र सदस्यहरुलाई निर्वाचन समितिका संयोजक तथा निर्वाचन अधिकृत डा। पुष्पराज राजकर्णिकारले सपथगराएका थिए । उपाध्यक्ष, सचिव लगायत पदाधिकारीहरूको चयन पार्टी विधान बमोजिम फागुन ७ गने हुने जिल्ला समितिको बैठकबाट हुने छ ।