राप्रपाको एकता महाधिवेशनमा चुनावी प्रक्रिया–अध्यक्षमा थापा र लोहनी भिड्ने

काठमाडौ। पूर्व पञ्चहरुको प्रभावशाली पार्टी राप्रपाको एकता महाधिवेशनमा आज आइतवार देखि चुनावी प्रक्रिया सुरु हुने भएको छ ।

शुक्रबारवाट काठमाडौको भृकुटीमण्डमा जारी एकताको पहिलो महाधिवेशनमा अध्यक्षका लागि दुई जना प्रतिष्पर्धामा उत्रिन लागेका छन् ।

यसअघि नै कमल थापालाई अध्यक्षमा सर्वसम्मत रुपमा उठाउने निर्णयको अवज्ञा गर्दै नेता डा. प्रकाचन्द्र लोहनीले आफ्नो उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

Raprapa

राप्रपाले आज विहान १० बजेदेखि चुनावी प्रक्रिया सुरु गर्न लागेको प्रवत्ता राजाराम श्रेष्ठले जानकारी दिएका छन् । अध्यक्षमा उम्मेद्वारी दर्ता गर्न ५० हजार रुपैयाँ शुल्क तोकिएको छ । सोमबार हुने मतदानका लागि आजैदेखि प्रक्रिया सुरु हुन लागेको हो।

सदस्यका लागि उम्मेद्वारी दर्ता गराउन ७ हजार रुपैयाँ दस्तुर तिर्नुपर्नेछ । बिहान १० देखि १२ बजेसम्म उम्मेद्वारका लागि मनोनयनपत्र दर्ता गर्ने समय तोकिएको छ ।

आइतबार नै उम्मेद्वारीमाथि दाबीविरोध, उम्मेद्वारी फिर्ता र उम्मेद्वारको अन्तिम नामावली प्रकाशन हुने भएको छ। शनिबार पारित भएको विधान अनुसार अध्यक्ष र ९८ जना केन्द्रिय सदस्यका लागि चुनाव हुनेछ ।

शनिबार पारित भएको राप्रपाको नयाँ विधानमा १ सय ६३ सदस्यीय केन्द्रिय कार्यसमिति रहने, त्यसमा अध्यक्ष र ६० प्रतिशत केन्द्रिय सदस्य प्रत्यक्ष निर्वाचित हुने र बाँकी सदस्य अध्यक्षले मनोनयन गर्ने प्रावधान छ।
प्रकाशन मिति–२०७३ साल फागुन ८ गते आइतवार ।